neapl investment mega bank
  • गृहपृष्ठ
  • एम्नेस्टी इन्टरनेसनेल नेपालले एसिड हिंसाबारे बहु सरोकारवाला प्यानल छलफल आयोजना गर्दे

एम्नेस्टी इन्टरनेसनेल नेपालले एसिड हिंसाबारे बहु सरोकारवाला प्यानल छलफल आयोजना गर्दे

Feb 18th, 2020

काठमाडौ, फागुुन ६

एम्नेस्टी इन्टरनेसनल नेपालले यही फागुन ८ गते बिहिबार एसिड हिंसा लगायत महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्नका लागि राज्य र नागरिक समाजको भूमिका विषयक एक प्यानल छलफल आयोजना गर्ने भएको छ । छलफल कार्यक्रम एम्नेस्टी नेपालको हाल जारी एसिड हिंसाविरुद्धको अभियान अन्तर्गत पर्दछ ।

प्यानल छलफलमा गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल प्रहरी, नागरिक समाजका प्रतिनिधि तथा एसिड हिंसाबाट प्रभावित पीडितहरूको सहभागिता हुनेछ । एसिड हिंसाका पीडितहरूप्रति राज्यको जिम्मेवारी र दायित्वका बारेमा एउटा संवादको थालनी गर्ने तथा महिलाका विरुद्ध हुने सबै हिंसाहरू र खासगरी एसिडजन्य आक्रमणबाट हुने यस्तो हिंसा अन्त्यका लागि आवश्यक पर्ने नीति र कानुनी मापदण्डका लागि वहस र पैरवी गर्ने उदेश्यले यो यो छलफल कार्यक्रमको आयोजना गरिएको हो,” एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले भने ।

मावनअधिकार उल्लङ्घन भोगेका वा उल्लङ्घनको जोखिममा रहेका मानिसहरूको समर्थनमा एम्नेस्टी इन्टरनेसनलले प्रत्येक वर्ष आयोजना गर्ने आफ्नो वार्षिक पत्रलेखन अभियान राइट फर राइट्स अन्तर्गत एम्नेस्टी नेपालले गत मंसिरमा सर्वोच्च अदालतले सन २०१७ मा एसिडको बेचबिखनलाई नियमन गर्नु भनी जारी गरेको आदेशलाई कार्यन्वयन गर्न माग गर्दै नेपाल सरकारलाई पत्र लेख्ने अभियान सञ्चालन गरेको थियोे ।

अभियानका क्रममा एम्नेस्टी नेपालका सदस्यहरूले देशभरीबाट ३३,००० पत्रहरु संकलन गरेका छन र यी पत्रहरूलाई गृह मन्त्रालयका प्रतिनिधिलाई कार्यक्रममा बुझाइनेछ ।

बढ्दो एसिड हिंसाका घटनाहरूतर्फ ध्यानाकर्षण गराउनुका साथै यी पत्रहरूले गृह मन्त्रीलाई भविष्यमा यस्ता घटनाहरू हुन नदिनका लागि शीघ्र र प्रभावकारी उपायहरू चाल्न आहवान गरेका छन ।

के हो राइट फर राइटस ?
हरेक वर्ष सञ्चालन गरिने राइट फर राइटस् अभियानका क्रममा एम्नेस्टी इन्टरनेसनलले अन्यायका विरुद्ध उभिने साहस गरेकै कारण आफ्नो अधिकारको उल्लङ्घन भोगेका तथा अधिकार उल्लङ्घनको जोखिममा रहेका व्यक्तिहरूप्रति ऐक्यबद्धताका सन्देशहरु लेख्न संसारभरीका आफ्ना सदस्य र समर्थकहरूलाई प्रेरित गर्दछ । एम्नेस्टीले आफ्ना समर्थकहरूलाई यी साहसी व्यक्तिहरूको पक्षमा सम्बन्धित अधिकारीहरुलाई लक्षित गरी पत्रहरु लेख्न पनि आहवान गर्ने गर्दछ ।

सन् २०१९ को अभियान बेलारुस, क्यानाडा, चीन, इजिप्ट, इरान, मेक्सिको, नाइजेरिया, फिलिपिन्स र दक्षिण सुडानका युवा मानव अधिकार रक्षकहरुप्रति केन्द्रित थियो । नेपालमा मंसिर १२ देखि पौष ४ सम्म चलेको राइट फर राइटस अभियानका क्रममा यी युवा मानवअधिकार रक्षकहरूको पक्षमा २२०,००० पत्रहरू संकलन गरिएको छ । यी पत्रहरूलाई यस महिनाको अन्त्यसम्ममा सम्बन्धित गन्तव्यहरूमा प्रेषित गरिनेछ ।