neapl investment mega bank
  • गृहपृष्ठ
  • दोलखामा विद्यालय बनाउन नेपथ्यको सांगीतिक कार्यक्रम

दोलखामा विद्यालय बनाउन नेपथ्यको सांगीतिक कार्यक्रम

Feb 18th, 2020

काठमाडौ, फागुन ६

चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौँमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसंगको सहकार्यमा “शिक्षाका लागि संगीत” नाम दिइएको सो कार्यक्रम भृकुटी मण्डप बगैंचामा आयोजना गरिने छ ।

सन २०१५ मा आएको विध्वंशकारी भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माणमा सहयोग जुटाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ । “सन २०१५ यता हामीले सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा मावि लगायत विभिन्न जिल्लाका विद्यालय भवनहरु पुनर्निर्माण गर्न सघाएक छौं । भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माण शुरु भै सकेको छ । सो पुनर्निर्माणको काम सम्पन्न गर्न सहयोग जुटाउन चर्चित व्याण्ड नेपथ्यसंगको सहकार्यमा यो सांगीतिक साँझ आयोजना गर्न लागिएको हो,” हेल्प नेपाल नेटवर्क नेपाल शाखाका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक रोशेन्द्रध्वज खड्काले भने। “पूर्वाधार राम्रो हुँदा बालबालिकाको पठन पाठनमा पनि राम्रो प्रभाव पर्छ। त्यसैले हामी अरु जिल्लाहरुका लागि पनि नमुना बन्न सक्ने गरी विद्यालयको पुनर्निर्माण कार्य अगाडी बढाइ रहेका छौं,” उनले थपे ।

कार्यक्रममा चर्चित गायक अमृत गुरुङले प्रस्तुति दिनेछन । अहिले टिकटको मूल्य रू ९०० राखिएको छ। कार्यक्रमको दिन भने टिकटको मूल्य प्रति व्यक्ति रु १,२५० राखिएको आयोजकहरुले जनाएका छन् । इ सेवामा गएर कार्यक्रमको टिकट किन्न सकिन्छ । “नेपालको चर्चित सांगीतिक समूह, नेपथ्य, संग सहकार्य गरी ‘शिक्षाका लागि संगीत’ कार्यक्रम आयोजन गर्न पाउंदा हामी अत्यन्तै खुसी छौं । विगतमा झैँ दर्शक, श्रोताहरुले यो कार्यक्रम रुचाइ दिनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं,” हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले भने । उनले भूकम्पबाट दोलखा जिल्लास्थित क्षतिग्रस्त राजकुलेश्वर विद्यालयको पुनर्निर्माणमा सघाउन हातेमालो गर्नुहुने सबैलाई धन्यवाद पनि दिए।

“टिकट काटेर वा प्रायोजकको रुपमा तपाईंले गर्नु भएको सहयोग दोलखाका बालबालिकाको शैक्षिक भविष्य उज्यालो तुल्याउन निकै महत्वपूर्ण हुनेछ,” बस्नेतले भने ।

“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने आह्वान गर्दे २० वर्षअघि बेलायतमा सो नेटवर्क स्थापना गरिएको थियो । हेल्प नेपाल नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपतकालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ ।