काठमाडौ, फागुुन १
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज नयाँ बानेश्वरमा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धिका लागि सारङ्गी टोलीवाट प्रस्तुति देखाएको छ ।
कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले गीत संगीतका माध्यमबाट ट्राफिक नियम सिकाईएको र सडक प्रयोगकर्ताहरूले उक्त कुरालाई व्यवहारमा प्रयोग गरी पालना गर्नुहुनेमा आफू विश्वस्त रहेको बताए ।
यस सांगीतिक कार्यक्रममा ट्राफिक प्रहरी र कलाकारहरू हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिल बहादुर गन्धर्वले ‘मान्नै पर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन ’बोलको सचेतना गीत गाएका थिए । गितको माध्यमबाट जेब्राक्रसिङ्ग र आकाशे पुलको प्रयोग, सडक संकेतको पालना, मापसे गरी सवारी नहाक्न, तिब्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सके जीवनको रक्षा हुने र घर परिवार समेत ढुक्क हुने कुरा प्रस्तुत गरे ।
यो अभियान प्रभावकारी हुने र आम सडक प्रयोगकर्ताले समेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जिवन पद्दतीको रुपमा लिने बिश्वास गर्दै एक सातासम्म उपत्यकाका मुख्य मुख्य चोकहरूमा सञ्चालन हुने जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
यस अभियानबाट विशेष गरी जथाभावी बाटो काट्ने कार्यलाई निरूत्साहित हुनुका साथै ट्राफिक लाईट संचालन भएका चोकहरूमा ट्राफिक लाईट पालना गरि बाटो काट्न थप सहयोग हुने अपेक्षा गरिएको छ ।