neapl investment mega bank
  • गृहपृष्ठ
  • चीनमा कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

चीनमा कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

Feb 13th, 2020

काठमाडौँ ,फागुन १ (रासस)

चीनको वुहान शहरमा कोरोना भाइरसका कारण एक हजार ११५ जनाले ज्यान गुमाइसकेका छन् । हजारौँ कोरोनाको भाइरसबाट सङ्क्रमित छन् । सो शहरका मानिस कोरोनाको सङ्क्रमणसँग लडिरहेका बेला कोरोना भाइरसको महामारीले विश्व जगत्को ध्यान तानेको छ ।

चीनले आफ्ना नागरिकलाई अन्य मुलुक जानमा रोक लगाएको छ । अन्य देशबाट चीनमा गई बसोवास गर्दै आइरहेकाहरु धामधम स्वदेश फर्किरहेका छन् । कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको सम्झनामा आज काठमाडौँमा दीप प्रज्वलन गरियो । मन्त्री, सांसद, नेपालका लागि चिनियाँ राजदूत, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।

ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा कलाकार, साहित्यकारले कोरोनाविरुद्धको अभियानमा चीनलाई परेको विपत्तिमा ‘हामीसँगै छौँ’ भन्दै गीत, कविता पस्किए । आफ्नो देशमा परेको सङ्कटप्रति नेपालले देखाएको सहानुभूतिबाट राजदूत होउ यान्छी भावुक देखिनुहुन्थ्यो ।

कलाकारका गीत र मर्मस्पर्शी कविताले दर्शक दीर्घाबाट बारम्बार ताली बर्सियो । राजदूत यान्छीले पनि तालीमा साथ दिनुभयो । विद्यार्थीले सामूहिक गीत प्रस्तुत गरे । कलाकार आनी छोइङ डोल्माको गीत र कवि बलराम दाहालको कविताले सबैलाई मन्त्रमुग्ध बनायो । हास्य कलाकार मनोज गजुरेलले कविताबाट सामाजिक सञ्चालमा कोरोना भाइरसबारे भइरहेका अनावश्यक हल्लाले मानिसमा त्रास उत्पन्न गरेको बताउनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मित्रराष्ट्र चीनमा परेको सङ्कट समाधानमा नेपाल सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । “चीनले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत कोरोना भाइरसको सङ्कटलाई धेरै हदसम्म कम गर्न सफल भएको छ”, उहाँले भन्नुभयो, “नेपालको विपत्तिमा पटक–पटक सहयोग गर्दै आइरहेको चीनलाई परेको विपत्तिमा नेपाल सक्दो सहयोग गर्न तयार छ ।”

मन्त्री अर्यालले चीनमा रहेका नेपाली विद्यार्थीसँग सरकार सम्पर्कमा रहेको भन्दै अहिलेसम्म कुनै पनि नेपाली विद्यार्थीमा कोरोनाको सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँले सरकार नेपाली विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो ।

राजदूत यान्छीले कोरोनाविरुद्धको अभियानमा नेपालले दर्शाएको सदासयताप्रति धन्यवाद दिँदै नेपालको सहयोगले चीनलाई थप ऊर्जा प्रदान गरेको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायतका सरकारी अधिकारी तथा नागरिकको सक्रियताका कारण वुहान शहर कोरोनाको सङ्क्रमणबाटमुक्त हुने दिशामा अग्रसर बन्दै गएको बताउनुभयो ।

“विश्व स्वास्थ्य सङ्गठन र अन्तरराष्ट्रिय नीति नियमलाई पालना गर्दै कोरोनाविरुद्धको अभियानमा चीन सरकार लागिपरेको छ” उहाँले भन्नुभयो, “पाँच हजारभन्दा धेरै मानिस उपचार गरेर घर फर्किसकेका छन् ।” उहाँले २०७२ सालमा नेपालमा भूकम्प जाँदा चीनले तत्कालै राहत उपलब्ध गराएको स्मरण गराउँदै भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माणमा पनि आवश्यक सहयोग प्रदान गरेको बताउनुभयो ।

सांसद यज्ञराज सुनुवारले चीन छिमेकी राष्ट्र मात्र नभएर असल मित्र राष्ट्र भएको भन्दै सदियौंदेखिको सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेत्री सुजता कोइरालाले कोरोना भाइससबाट सङ्क्रमित भएकाको उपचारका लागि चीन सरकारले देखाएको चिन्ता र चासोबाट अरु मुलुकले पनि पाठ सिक्नुपर्ने धारणा राख्नुभयो । पूर्वमन्त्री आनन्द पोखरेलले माहामारी वा विपत्ति जुनसुकै राष्ट्रलाई पनि पर्नसक्ने हुँदा यो समस्या चीनको मात्र नभएर सम्पूर्ण मानवजगतको भएको धारणा राख्नुभयो ।