neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्झरिया–रगरगञ्ज सडकमा ठेकेदारको लापरवाही , ग्राभेल भन्दै माटो हालेर झुक्याइरहेको स्थानीयवासीको गुनासो

मन्झरिया–रगरगञ्ज सडकमा ठेकेदारको लापरवाही , ग्राभेल भन्दै माटो हालेर झुक्याइरहेको स्थानीयवासीको गुनासो

Feb 12th, 2020

– मोहन पौडेल
परासी, २९ माघ (रासस)

पश्चिम नवलपरासीस्थित मन्झरिया–सनइ–रगरगञ्ज सडकअन्तर्गत भइरहेको काम गुणस्तरहीन भएको पाइएको छ । पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने रगरगञ्ज खण्डमा निर्माण कम्पनीले गम्भीर लापरवाही गरी गुणस्तरहीन सडक निर्माण गरेको स्थानीयवासीले बताएका छन् ।

निर्माण कम्पनी समिर कन्स्ट्रक्सन नवलपरासीले अनुमानविपरीत गुणस्तरहीन काम गरेको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताउनुभयो । प्रदेश नं ५ सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय भैरहवाले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत सडक नियमित मर्मतसम्भार कार्यक्रममार्फत यो सडकखण्ड ग्राभेलका लागि ठेक्का लगाएको हो ।

निर्माण कम्पनीले सडकमा ग्राभेल (मिसकट) भन्दै माटो हालेर झुक्याइरहेको स्थानीयवासी नवलकिशोर पाण्डेले गुनासो गर्नुभयो । मिसकट भन्दै माटो मात्र खसालेपछि स्थानीयवासीले तीव्र आक्रोश पोखेका छन् । “ठेकेदारले यो बाटोमा मिसकट हाल्छु भन्थे तर माटोमात्र हालेर ठग्ने काम गरेका छन्, एक प्रतिशत पनि बालुवा छैन, अहिले मिसकट नहालेमा वर्षातमा हामीले धेरै सास्ती खप्नुपर्दछ”, उहाँले भन्नुभयो ।

निर्माण कम्पनीले ग्राभेल भनेर सडकमा माटो मात्र हालेकाले तत्काल सुधार हुनुपर्ने अर्का स्थानीयवासी हरिराम शहानीले माग गर्नुभयो । “यो सडक अहिले त सुक्खा छ, यसमा बोल्डर, गिट्टी केही हालिएको छैन, वर्षातको समयमा एक त हिलोले सास्ती हुन्छ, अहिले नै हामीले यसरी टेक्दा नै धसिरहेको छ, ट्र्याक्टर–गाडी हिँड्दा यो बाटोको के हालत होला रु कम्तीमा तीन मिटर बाक्लो गिट्टी हुनुपथ्र्यो, गिट्टी १० प्रतिशत र माटो ९० प्रतिशत हालिएको छ, माटो मात्र हालिएको बाटो कति दिन टिक्छ रु”, उहाँले प्रश्न गर्नुभयो ।

सडकमा निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको गुनासो आएपछि गाउँपालिका अध्यक्ष गुप्ताको पहलमा जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय, निमित्त प्रमुख जिल्ला अधिकारी श्रीप्रसाद गौतम, इञ्जिनीयर, सञ्चारकर्मी तथा स्थानीय जनप्रतिनिधिसहितको टोलीले सडकको स्थलगत अनुगमन गरेको थियो । सडक तोकिएको मापदण्डभन्दा विपरीत गुणस्तरहीन बनाइएको गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो ।

“स्थानीयवासीले गाउँपालिकाले सडक गुणस्तरहीन बनायो भनेर बुझेका रहेछन्, तर यो त प्रदेश सरकारअन्तर्गत बनिरहेको बाटो हो, स्थानीयवासीको गुनासो आएपछि हामीले तत्कालै जिल्लास्थित सरोकारवालालाई बोलाएर स्थलगत अनुगमन ग¥यौँ, काममा लापरवाही देखिएको छ, निर्माण कम्पनीलाई सुधार गर्न भनेका छौँ, पूर्वाधार विकास कार्यालयलाई पनि जानकारी गराएर सडक गुणस्तर बनाउन भनेका छौँ”, उहाँले भन्नुभयो ।

सडकको काममा निर्माण कम्पनीको लापरवाही देखिएकाले तत्काल सच्याउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख रायले बताउनुभयो । “हामीले अनुगमन गर्दा सनइदेखि रगरगञ्जसम्मको सडक गुणस्तरीय बनेको देखिएन, मिसकट खसाल्नुपर्नेमा माटो खसालेको देखिन्छ भने अर्कोतिर १० सेमी मोटाइ हुनुपर्नेमा एकदेखि डेढ इञ्चसम्मको मात्र मोटाइको बनाइएको छ, यो गुणस्तरीय काम नभएकाले हामीले सम्बन्धित निकायलाई जानकारी गराएर सुधार गर्न आग्रह गर्छौँ”, उहाँले भन्नुभयो ।

पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख इञ्जिनीयर ललित न्यौपानेका अनुसार उक्त सडकको रोलिङ गरिसकेपछि ग्राभेलको मोटाइ (थिग्नेस) १० सेमी हुनुपर्छ भने चौडाइमा भने कोही फराकिलो र कोही साँघुरो रहेकाले एकै खालको नभएको र आवश्यकताअनुसार न्यूनतम चारदेखि साढे पाँच मिटरसम्म चौडाइ रहेको बताउनुभयो ।

ग्राभेलको सट्टा माटो मात्र हालेर लापरवाही गरेको विषयमा आफू छिट्टै आएर स्थलगत निरीक्षण गर्ने उहाँको भनाइ थियो । अनुमानअनुसार सडक निर्माण नभएको भए भुक्तानी रोक्का गरिने उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका इञ्जिनीयर उमेश शर्माका अनुसार अनुमानअनुसार काम भएको छैन । ग्राभेल १० सेन्टिमिटर हुनुपर्नेमा पाँचदेखि सात सेन्टिमिटरसम्म कम देखिएको छ । उहाँले भन्नुभयो, “ग्राभेल रोलिङ गर्ने क्रममा मिक्स हुनुपथ्र्यो छैन, माटो पनि सडक किनारकै खनेर हालिएको छ, नाप्दा अनुमान गरिएकोभन्दा निकै कम देखियो, मिसकटमा पनि माटोको परिमाण बढी देखिएको छ ।”