नयाँ दिल्ली, माघ २९ (रासस/एएनआई)
भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मङ्गलबार सम्पन्न मतगणनामा ६२ सीटमा विजय भएको छ । त्यस्तै भारतीय जनता पाटी (भाजपा) ले आठ स्थानमा विजय हाँसिल गरेको छ । प्रतिशतका आधारमा भाजपाले ८८.५७ प्रतिशत सीट ल्याएको छ भने भाजपाले ११.४३ प्रतिशत सीट जितेको छ ।
कूल ७० सीटको विधान सभामा आपले कूल ६२ सीटमा विजय गरेको छ भने भाजपाले जम्मा आठ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न सकेन । यस अघि सन् २०१५ को विधान सभामा आपले ६७ सीट जितेको थियो भने भाजपाले तीन सीट ल्याएको थियो । मङ्गलबार सम्पन्न निर्वाचन परिणामको नतिजालाई भारतीय निर्वाचन आयोगका अधिकारीहरूले पुष्टि गरेका छन् । परिणामलाई निर्वाचन आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।
दिल्ली विधान सभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन । कडा सुरक्षाको बीचमा शहरभरिका २१ केन्द्रहरूमा मतगणना गरिएको थियो ।
निर्वाचन आयोगको साँझ ९ः३० बजे सम्मको तथ्याङकमा आपले सबैभन्दा बढी ५३.५७ प्रतिशत मत प्राप्त गरेको छ भने भाजपाले ३८.५० प्रतिशत मत पाएको छ । कुनै पनि सीट नजितेको कङ्ग्रेसले निकै थोरै ४.२६ प्रतिशत पाएको उल्लेख छ ।