– खेमराज गौतम
गलकोट, २८ माघ (रासस)
असोज कात्तिक महिनामा मात्रै होइन, अहिले पनि बागलुङबजारका विभिन्न चोक, गल्ली र टोलमा छाडा कुकुर छरपस्ट देखिन्छ । देखिने मात्र होइन, बेला बेला उस्तै आक्रामक भएर पनि आउने गर्दछ । छाडा कुकुरको व्यवस्थापनका विषयमा स्थानीय सरकारका रूपमा बागलुङ नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयप्रति तीव्र प्रश्न पनि उठ्छ तर यसलाई विष हालेर मार्दा पशु अधिकारकर्मीको चर्को विरोध आएपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।
यद्यपि नगरपालिकाले कुकुर व्यवस्थापनका लागि छुट्टै बजेट विनियोजन गरेर अघि बढ्ने पहल थालेको छ । छाडा कुकुरको सङ्ख्या बढ्दै गएका कारण मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएपछि नगरपालिकाले छाडा कुकुर व्यवस्थापनको पहल थालेको हो । नगरपालिकाले यो वर्ष छाडा कुकुर व्यवस्थापन गर्ने गरी रु दुई लाख बजेटसमेत विनियोजन गरेको छ । बागलुङ बजारमा रहेका छाडा कुकुरको दीर्घकालीन व्यवस्थापन गर्न फागुन महिनाभित्र कुकुरको बन्ध्याकरण गरिसक्ने नगरपालिकाले जनाएको छ ।
छाडा कुकुरका कारण बागलुङ बजार अव्यवस्थित तथा दुर्घटनाको जोखिमसमेत बढेकाले कुकुरहरुको यथोचित व्यवस्थापनका लागि बन्ध्याकरण उपयुक्त विकल्प भएको निष्कर्षसहित यसकै तयारीमा रहेको नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । “पशु अधिकारका हिसाबले पछिल्लो समय कुकुरलाई मार्न पाइँदैन”, प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, “पोखराबाट कुकुर समाउने तथा बन्ध्याकरण गर्ने प्राविधिक ल्याएर फागुन महिनाभित्र गुनासो नआउने गरी व्यवस्थापन गर्ने प्रयासमा छौँ ।” सुवेदीका अनुसार बन्ध्याकरणको समयमा कुकुरलाई रेबिजविरुद्धको खोपसमेत लगाइनेछ ।
बागलुङ बजारमा अहिले करीब १०० छाडा कुकुर छन् । छाडा कुकुरका कारण बजारका व्यापारीलाई समेत समस्यामा पारेको गुनासो छ । “छाडा कुकुरले जथाभावी मानिसलाई टोक्ने गरेपछि त्यसको व्यवस्थापनका लागि कुकरलाई रेबिजविरुद्धको खोप दिने र बन्ध्याकरण गरिनेछ”, नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयो, “योजना कार्यन्वयनसँगै सडकमा हिँडडुल गर्ने नागरिक कुकुरबाट सुरक्षित हुनेछन्, रेबिज रोगको जोखिम कम हुनेछ ।”
पौडेलका अनुसार फागुन महिनाभित्र बन्ध्याकरण शिविरको आयोजना गरिनेछ । रेबिज प्राणघातक रोग भएको र यसको उपचार गर्न निकै गाह्रो हुने भएकाले नगरपालिकाले लिएको कदम उपयुक्त विकल्प भएको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्न्डेन्ट डा शेलैद्र बी पोखरेलले बताउनुभयो । कुकुरको टोकाइबाट रेबिज सर्ने सम्भावना ९० प्रतिशत हुन्छ । अन्य जिल्लामा ‘नो बेबी, नो रेबिज’ भन्ने नाराका साथ रेबिजविरुद्धको खोप लगाउने गरिएको छ ।
अरु जिल्लामा व्यवस्थापनसहित विभिन्न अभियान चलिरहेको भए पनि बागलुङमा हाल छाडा कुकुर व्यवस्थापन गर्न नसकिएको भेटेरेनरी तथा पशु अस्पताल बागलुङका डा शम्भु पाण्डेले बताउनुभयो । “कार्यालयमा आवश्यक बजेट अभावमा बन्ध्याकरण शिविर सञ्चालन गर्न सकिएको छैन”, पाण्डेले भन्नुभयो, “नगरपालिकाले बजेट विनियोजन गरेर व्यवस्थापन थाले हामी शिविरमा सहयोगी भूमिका खेल्नेछौँ ।” पाण्डेले भेटेरेनरी तथा पशु अस्पतालले निःशुल्क भ्याक्सिन सेवा प्रदान गर्दै आएको छ । छाडा कुकुरहरुको सन्दर्भमा भ्याक्सिन दोहोरिने समस्या छ । कुकुरहरुको पहिचान तथा घरधनीको बेवास्ता र असहयोगका कारण कुकुरलाई अनिवार्यरूपमा भ्याक्सिन लगाउन नसकिएको पाण्डेको भनाइ छ ।