neapl investment mega bank
  • गृहपृष्ठ
  • चीनमा २७ विदेशीलाई कोरोना भाइरस, दुईको मृत्य : विदेश मन्त्रालय

चीनमा २७ विदेशीलाई कोरोना भाइरस, दुईको मृत्य : विदेश मन्त्रालय

Feb 10th, 2020

बेइजिङ, २७ माघ (रासस/सिन्ह्वा)

विभिन्न मुलुकबाट चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा बस्दै आएका कुल २७ व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ । विरामीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने तीन जना उपचारपछि घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण भएका २२ जनालाई अस्पतालमा एकान्तमा राखेर उपचार सेवा प्रदान गरिराखिएको छ ।

यो तथ्याङ्क सोमबार बिहान आठ बजेसम्मको भएको र अहिलेसम्म एक चिनियाँ मूलका अमेरिकी र एक जापानी नागरिकको सङ्क्रमणका कारण चीनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता कङ सुवाङले बताउनुभएको छ ।

चिनियाँ मूलका अमेरिकी र एक जापानी नागरिकको सङ्क्रमणका कारण क्रमशः फेब्रुअरी ६ र ८ गते हुबेईको वुहानमा निधन भएको थियो । कोरोना भाइरससँगको लडाईमा मृतकबरण गरेका ती दुवै विदेशीको उपचारका लागि चिनियाँ स्वास्थ्यकर्मीले अन्तिम समयसम्म उपचार सेवा दिएपनि उनीहरूलाई बचाउन नसकिएको कङले बताउनुभयो । चिनियाँ पक्षले उनीहरूको मृत्युबारे कूटनीतिक माध्यमबाट परिवारलाई जानकारी गराएको र समवेदना प्रकट गरेको तथा चीन अहिले मृतकका शोकसन्तप्त परिवारसँग सम्पर्कमा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीन र खासगरी वुहानमा रहेका विदेशी नागरिकको स्वास्थ्य र सुरक्षाका लागि चीन अति नै संवेदनशिल रहेको तथा उनीहरूबाट माग भए अनुसार सङ्क्रमणबाट बचाउन प्रभावकारी उपायहरूको अवलम्बन गर्दै आएको छ ।”

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले पनि पटक पटक विदेशी नागरिकलाई हतारमा चीन नछोड्न सुझाब दिएको स्मरण गर्दै उहाँले सङ्क्रमणबाट बच्न आफ्नो तर्फबाट आवश्यक सावधानी अपनाउनु पर्ने उत्कृष्ट उपायको अवलम्बन गर्नसमेत सुझाब दिनुभयो । उहाँले विश्व स्वास्थ्य संगठनका अधिकारीले सुरक्षाका लागि दिएको सुझाबलाई सम्मान गर्न सम्बन्द्ध सबैलाई आग्रह गर्नुभयो ।

स्वदेश फिर्ता लान चाहने मुलुकका हकमा भने महामारीका नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक क्षमता अनुसार चीनले आवश्यक प्रक्रिया मिलाएर सहयोग गर्ने बताउनुभयो ।