neapl investment mega bank

एक्वेरियममा रमाउँदै तीन सिए

Feb 10th, 2020

चितवन, २७ माघ (रासस)

चार्टर एकाउन्टेन्ट अध्ययन पुरा गरेका तीन युवाले संयुक्त लगानीमा नारायणगढको प्रगतिपथमा ‘नेपाल एक्वेरियम एन्ड डेकोरेशन हाउस’ नामक व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
भरतपुर र काठमाडौँमा लेखा परीक्षण कार्यमा संलग्न सुशील घिमिरे, मुस्ताफा आलम र सन्तोष रेग्मीले संयुक्त लगानीमा सो व्यवसाय शुरुआत गर्नुभएको हो । रु ४० लाख लगानीमा उहाँहरुले चीन र थाइल्यान्डबाट तयारी एक्वेरियम भित्र्याएर चितवनसहित विभिन्न जिल्लामा बिक्री गर्दै आउनुभएको छ । यससँगै थाइल्यान्डबाट ४० प्रजातिका माछा झिकाएर यहाँको बजारमा बिक्री गरिने व्यवसायी घिमिरेले जानकारी दिनुभयो । रिसाहा र शान्त दवै प्रजातिका ती माछा सफा पानीमा रमाउने गर्दछन् ।

अर्का व्यवसायी आलमले यस वर्ष रु एक करोडको माछा, एक्वेरियम, दाना, औषधि, ढुङ्गालगायत वस्तु बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । नियमित सेवा लिन आउनेहरुको सङ्ख्या २५० हाराहारी भएको उहाँहरुले जानकारी दिनुभयो । रु दुई हजार ५०० देखि दुई लाखसम्मका एक्वेरियम मूल्य रहेको बताइएको छ ।

उच्च गुणस्तरका खानासँगै माछाको उपचारसमेत हुने भएकाले धेरैको मन जित्न सकेको बताइएको छ । वास्तु हेरेर ठाउँ मिलाएर मात्र एक्वेरियम राख्ने गरिन्छ । जिउँदो माछा सफा पानीमा खेल्दै गरेको दृश्य हेरेर बालबालिकामा मात्र होइन वृद्धवृद्धासम्मलाई आनन्द दिलाउँछ । व्यवसायी आलमले भन्नुभयो, “अनेक थरीका रोगीका लागि पनि माछाको दृश्य फाइदाजनक हुन्छ ।”
मकवानपुर र नवलपरासीदेखि माछा लिन यहाँ आउने गर्दछन् । देशैभर व्यवसाय विस्तार गर्ने तयारीमा रहेको उहाँहरुले जानकारी दिनुभयो । नियमित लेखा परीक्षणको कामले दिक्क हुँदा केहीबेर आफ्नो पसलमा रहेका माछा हेरेर निकै सन्तुष्ट मिल्ने गरेको उहाँहरुले बताउनुभयो । व्यवसायी घिमिरेले भन्नुभयो, “आम्दानी त धेरै हुँदैन तर व्यवसायले ज्ञानसँगै आनन्द भने दिलाएको छ ।”