भक्तपुर, २६ माघ (रासस)
भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्ने गरी क्वारेन्टाइन राख्न लागेकामा आपत्ति जनाएका छन् । उनीहरुले सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै उपत्यकाको घनाबस्ती कतै पनि क्वारेन्टाइन बनाउन नहुने बताएका हुन् ।
यसबारेमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले चीनबाट फर्काउन लागेको नेपालीलाई उपत्यकामै राख्नु खतरनाक भएको बताउनुभयो । सरकारले चीनबाट फर्काउने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने तयारी गरेपछि उहाँले यस्तो बताउनुभएको हो ।
विजुक्छेले सरकारले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल फर्काउने र तिनीहरुलाई काठमाडौँका चार ठाउँमा राख्ने प्रस्ताव अदूरदर्शी भएको बताउँदै विद्यार्थीलाई नेपाल भित्र्याउनु भन्दा चीनमै राख्नु उनीहरुका लागि सुरक्षित रहेको बताउनुभयो ।
चीनबाट फर्काइएका विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइए त्यसले काठमाडौँमा महामारीको रूप लिनसक्ने सम्भावनालाई नकार्न नमिल्ने भन्दै उहाँले त्यस्तो अवस्थामा सरकारसँग रोग नियन्त्रण गर्नसक्ने क्षमतासमेत नरहेको बताउनुभयो ।
कोरोना भाइरस लागेका सङ्क्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारीसमेत नभएको बताउँदै उहाँले चीनले सो भाइरसको सङ्क्रमणलाई प्रतिरोध गर्न तीव्रगतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी नहुने बताउनुभयो । सरकारले हचुवाको भरमा भक्तपुरमा राख्न खोज्नु गलत भएको बताउँदै भक्तपुरमा मात्रै नभई उपत्यकामै राख्ने निर्णय गलत रहेको बताउनुभयो ।
नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले चीनको वुहानबाट फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्न नहुने बताउँदै बस्तीको बीचमा राख्दा यसले ठूलो जोखिम निम्त्याउने बताउनुभयो । उहाँले चीनबाट फर्काइएका नेपालीमा नेपाल आइपुग्दा सङ्क्रमण भएको पाइए त्यसले सङ्कट निम्त्याउने भन्दै अहिलेसम्म केही नबिग्रिएकाले मानवबस्तीमा राख्ने तयारीलाई रोक्नुपर्ने बताउनुभयो ।
यता नेपाली काँग्रेसले विज्ञप्ति निकालेरै त्यसको विरोध गरेको छ । नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले सरकारले कोरोना भाइरसलाई अहिलेसम्म गम्भीररूपमा नलिएको बताउँदै सङ्क्रमण भए उपचार कसरी गर्ने भन्नेसमेत तयारी नगरेको बताउनुभयो ।
नेपाललाई सङ्क्रमणबाट कसरी जोगाउने भन्नेमा सरकार गम्भीर नभएको बताउँदै उहाँले भक्तपुरको मानवबस्ती बीचमा जटिल रूप लिने भाइरसको जोखिम भएका व्यक्तिलाई ल्याएर राख्ने सरकारको निर्णय सच्याउन माग गर्नुभयो ।
राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले स्थानीय बासिन्दाको आवाजलाई सरकारले बेवास्ता गरेको भन्दै यहाँका जनताले जोखिम नसहने र यसबाट आइपर्ने कुनै पनि घटनाको जिम्मेवार सरकार हुने बताउनुभयो । उहाँले भक्तपुरमा मात्रै नभई मानवबस्तीको बीचमा चीनबाट फर्कने नेपालीलाई राख्न नहुने जनताको आवाजलाई सरकारले सुन्नैपर्ने बताउनुभयो ।
स्थानीय जनताले आज पनि त्यस क्षेत्रमा सरकारको निर्णयको विरोध गरेका छन् भने स्थानीय बासिन्दा त्रासमा बसेका छन् । चाँगुनारायण नगरपालिकाले यसअघि नै नगरसभाबाटै उक्त निर्णय सच्याउन सरकारसँग माग गरेको छ ।