neapl investment mega bank
  • गृहपृष्ठ
  • इलामको इतिहास बोकेको चिया कारखाना जीर्ण बन्दै

इलामको इतिहास बोकेको चिया कारखाना जीर्ण बन्दै

Feb 9th, 2020

मङ्गलबारे, २६ माघ (रासस)

इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो । सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो । विसं १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन शुरु गरिएको सो कारखाना अहिले खण्डहर बनेको छ ।

नेपाली चियाको इतिहाससँग जोडिएको चिया बगान र कारखाना निजीकरण गरिएसँगै खण्डहर बनेको हो । इलामको माई नगरपालिका–९ मा रहेको कारखाना निजीकरणसँगै प्रशोधनको काम अहिले हुन छाडेको छ । तत्कालीन बडाहाकिम गजराजसिंह थापाले विसं १९२२ मा सोक्तिममा चियाखेती शुरु गर्नुभएको थियो । इलाम चिया बगानभन्दा दुई वर्षमात्रै पछि खेती गरिएको बगानमा रहेको कारखाना निजीकरणपछि प्रशोधन गर्ने मेसिन अयन्त्रै लगिएसँगै प्रशोधनको काम रोकिएको थियो ।

आधुनिक चिया प्रशोधन गर्ने सदरमुकामको कारखाना देशकै पहिलो कारखाना हो । दोस्रो चिया कारखानाका रुपमा रहेको माई नगरपालिकाको सोक्तिम चिया कारखाना स्याहार नहुँदा जीर्ण बन्दै गएको हो । एक सय ३६ वर्ष पुरानो सोक्तिम बगानका चियाको बुट्टाको गुणस्तरीय मुना दिए पनि कारखाना बन्द गर्दा चियाको इतिहास नै सङ्कटमा परेको माई नगरपालिका वडा न ९ का वडाध्यक्ष लीलाकुमार राईले बताउनुभयो । उहाँले पहिला नै सम्झौता गरेर निजी क्षेत्रलाई दिएकाले नगरपालिकाले सञ्चालन गर्न कठिनाइ भएको बताउनुभयो । इलाम र झापामा रहेका सात वटा सरकारी चिया बगान सरकारले भारतको सङ्घाइ ग्रुपलाई भाडामा दिएको छ ।