neapl investment mega bank
  • गृहपृष्ठ
  • समृद्ध नेपाल निर्माणको अभियानमा पत्रकार पनि लाग्नुपर्छ : मुख्यमन्त्री पौडेल

समृद्ध नेपाल निर्माणको अभियानमा पत्रकार पनि लाग्नुपर्छ : मुख्यमन्त्री पौडेल

Feb 8th, 2020

हेटौँडा, २५ माघ (रासस)

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्ध बनाउने योजनालाई सफल बनाउन पत्रकार पनि लाग्नुपर्ने बताउनुभएको छ । पौडेलले समाज परिवर्तन गर्ने दायित्व पत्रकारको पनि भएको बताउँदै सकारात्मक समाचारलाई प्रथमिकता दिन अनुरोध गर्नुभयो ।

प्रेस सङ्गठन, नेपालको वाग्मती प्रदेश कमिटीका सदस्य तथा पदाधिकारीको शपथग्रहण कार्यक्रम तथा प्रथम प्रदेश भेलामा आज बोल्दै उहाँले सञ्चारमाध्यमले नकारात्मकता प्रवाह गरेर नागरिकमा नैराश्यता पैदा गराइदिनु नहुने बताउनुभयो । पत्रकारले सरकारका राम्रा कामका बारेमा जनतालाई सुसूचित गराउनुपर्ने बताउँदै उहाँले पत्रकारहरु आफ्नो दायित्वबाट पन्छिन नहुने धारणा राख्नुभयो । उहाँले अवस्थाअनुसार नेतृत्व अलग हुने गरे पनि सरकार भनेको देशको स्थायी राज्य सञ्चालक भएकाले सरकारप्रति नै बितृष्णा उत्पन्न गराउँदा जनताको नैराश्यता बढ्ने र राष्ट्रियता कमजोर हुने भन्दै मुख्यमन्त्री पौडेलले सरकारप्रति सकारात्मक भैदिन अनुरोध गर्नुभयो ।

सरकारले गरेका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भन्नुपर्नेमा कतिपयले नराम्रोलाई नराम्रो भनिहाल्ने तर राम्रोलाई नदेख्ने र देखिहाले पनि नराम्रो गरी नै प्रस्तुतिकरण गर्ने गरेको देखिएकोले त्यसले कसैलाई पनि राम्रो नगर्ने उहाँको भनाइ थियो । “हामी मात्रै ठिक र अरु सबै बेठिक भन्ने मानसिकतालाई त्याग्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारका लागि प्रदेशले धरै कुरा गर्न चाहेको भए पनि नसकिरहेको बताउनुभयो । उहाँले देशको ‘मेकानिज्म’ नै परिर्वतनको बाधक भएको बताउनुभयो । उहाँले व्यवस्था बदलिएर पनि कसैलाई केही फरक नपरेको बताउनुभयो । मन्त्री जम्कट्टेलले कुरा गरेर समाजवाद नआउने बताउँदै काम गरे मात्र परिवर्तन हुने उल्लेख गर्नुभयो । विश्वमा भएको विकास हेरेर जानेर लागू गर्न हामी किन सकिरहेका छैनौँ भन्ने मूल्याङ्कन गरिनुपर्ने उहाँको भनाइ थियो । वर्तमान व्यवस्था यथास्थितिवादीहरुको नदेखिँदो घेराबन्दीमा रहेको बताउँदै त्यो तोड्न पत्रकार लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रेस सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रेस सङ्गठनका सदस्यले उत्पीडनका विरुद्ध आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो । उहाँले समाजको मुख्य उत्तरदायित्व बोक्ने पत्रकारले समाजलाई अगाडि लाने दायित्वलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सत्यका पक्षमा लाग्नबाट विचलित नभई पूर्वसेन्टर वा पूर्वचौतारीका बीचमा कुनै पनि भिन्नता नराखी काम गर्न निर्देशन दिनुभयो ।

प्रेस सङ्गठन नेपालका सहइन्चार्ज ओम शर्माले खोजी पत्रकारितामा लाग्न सङ्गठनका सदस्यहरुलाई अनुरोध गर्दै आफूलाई अन्यको तुलनामा सक्षम र सवल बनाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा तत्कालीन प्रेस चौतारीका पूर्वकेन्द्रीय अध्यक्ष गगन विष्टले प्रेस सङ्गठनमा आबद्ध पत्रकारलाई ‘पेडन्यूज’ र ‘फेकन्यूज’ बाट अलग रहेर जिम्मेवार पत्रकारका रूपमा काम गर्न अनुरोध गर्नुभयो ।