neapl investment mega bank
  • गृहपृष्ठ
  • विकास र समृद्धिमा व्यवस्थापकको भूमिका महत्वपूर्णः उपराष्ट्रपति

विकास र समृद्धिमा व्यवस्थापकको भूमिका महत्वपूर्णः उपराष्ट्रपति

Feb 7th, 2020

काठमाडौँ, २४ माघ (रासस)

उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न व्यवस्थापकको अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल व्यवस्थापन सङ्घद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले विकास र समृद्धिको यात्रालाई सफल बनाउन व्यवस्थापकको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

“अबको हाम्रो प्राथमिकता विकास र समृद्धि नै हो । विकास र समृद्धिको यो यात्रामा हामी कति सफल हुन्छौँ रु हाम्रो प्रगति कछुवाको चालमा हुन्छ या हरिणको गतिमा रु”, उहाँले भन्नुभयो, “यहाँनेर तपाईं व्यवस्थापक मित्रहरुको पनि भूमिका रहन्छ । एकजना व्यवस्थापकले चाह्यो भने, उसलाई सबैको सहयोग भयो भने उसले आफ्नो क्षेत्रमा कायापलट गर्न सक्छ भन्ने हामीले उदाहरण देखिसकेका छौँ ।”

समान पूँजी, जनशक्ति र एकै स्थानमा भएका सरकारी तथा सार्वजनिक संस्था र निजी क्षेत्रमध्ये सरकारी दिनप्रतिदिन अधोगतिमा र नीजि क्षेत्र उन्नतितर्फ गइरहेको यथार्थ प्रस्तुत गर्दै उहाँले सरकारी निकाय, संस्थानको व्यवस्थापन भद्रगोल र निजी क्षेत्रको व्यवस्थापन चुस्त हुने गरेको पाइएको बताउनुभयो । “केही सरकारी संस्थान तथा कम्पनीले निकै गौरवपूर्ण र उदाहरणीय कार्य पनि गरेका छन्, केही नीजि क्षेत्र डुबेका पनि छन् । तर, समग्रमा हेर्दा सार्वजनिकभन्दा नीजि क्षेत्र नै अब्बल देखिन्छन्”, उहाँले भन्नुभयो । व्यवस्थापकीय पक्षमा व्यापक सुधारको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

सार्वजनिक संस्थाको अवस्था सुधार गर्न कतिपय झण्झटिला कानून सुधार गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले मुलुकको समृद्धिका लागि ती संस्थाको व्यवस्थापकीय पक्ष अब्बल बन्नुपर्ने बताउनुभयो । थुप्रै व्यवस्थापक जन्माउने विद्यालयको शैक्षिक अवस्थातर्फ सबैले ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयको खस्कँदो अवस्थाप्रति सबै सजग हुनुपर्ने बताउनुभयो । “सामुदायिक विद्यालयको अवस्थाप्रति हामी सबै चिन्तित हुनुपर्दछ”, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको अवस्था कमजोर हुनुमा विभिन्न कारण होलान्, त्यसमध्ये प्रमुख कारण व्यवस्थापन नै हो ।”

राष्ट्र निर्माणमा सक्रिय रहन व्यवस्थापकलाई आग्रह गर्दै उहाँले व्यवस्थापकीय कला र क्षमतालाई सामुदायिक विद्यालयको व्यवस्थापन उपयोग गर्न सुझाव दिनुभयो । “कस्तो खालको व्यवस्थापकीय सिद्धान्त, पद्धति अपनाउँदा हाम्रा सामुदायिक विद्यालयको गुणस्तर सुधार हुन्छ, कृपया यहाँहरुले आफ्नो विज्ञता प्रदर्शन गरिदिनुहोस्”, उहाँले भन्नुभयो ।

सङ्घका सभापति तथा राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले विभिन्न क्षेत्रका व्यवस्थापकको क्षमता अभिवृद्धि गर्दै मुलुकमा सुशासन प्रवद्र्धन गर्न सङ्घले भूमिका खेल्दै आएको बताउनुभयो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई ‘नेशनल म्यानेजमेन्ट अवार्ड’ प्रदान गर्नुभएको थियो ।