neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल कानून व्यवसायी परिषद पार्षदको निर्वाचन भोलि , बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपाने

नेपाल कानून व्यवसायी परिषद पार्षदको निर्वाचन भोलि , बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपाने

Feb 7th, 2020

काठमाडौ, माघ २४

नेपाल कानून व्यवसायी परिषद पार्षदको निर्वाचन भोलि शनिबार हुँदैछ । सातै प्रदेशमा पार्षद छान्नका लागि परिषदले निर्वाचन गर्न लागेको हो ।

परिषदको बाग्मती प्रदेश पार्षद पदमा बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले उम्मेदवारी दिएका छन । वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले नेपाल कानून व्यवसायी परिषदलाई नवीनतम् ढंगले अगाडि बढाउने प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेकाहुन ।

‘२५ वर्षको बार काउन्सिल ६ महिनाको ब चाको अवस्थामा छ, सर्वोच्च अदालतका अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतलाई लाइसेन्स दिन अधिकार त लियो, तर त्योभन्दा बढी केही गर्न सकेजस्तो मलाई लाग्दैन,’न्यौपानले भने, ‘प्राक्टिक प्राक्टिसका आधारमा परीक्षा लिने र काउन्सिलको कार्यशैलीलाई नयाँ ढंगले अघि बढाउन पहल गर्ने उद्देश्यले नै उम्मेदवारी दिएको हुँ ।
अदालतले लिने परीक्षा र कानून अध्ययन अध्यापन हुने कलेजले लिने परीक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन पहल गर्ने बताउँदै न्यौपानेले नेपालमा कानूनी शिक्षाको अवस्थालाई अध्ययन गरी अझै समयसापेक्ष सुधार गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

के–के छन् एजेण्डा?

बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले १६ वटा एजेण्डासहित उम्मेदवारी घोषणा गरेका छन् । उनले सबै विचार समूहका कानून व्यवसायी र युवा विद्यार्थीहरुसँग छलफल सम्पन्न गरेकाछन ।

‘नेपाल कानून व्यवसायी परिषदको ऐन २०५० लाई समयानुकूल संशोधन गर्ने, वरिष्ठ अधिवक्ताहरुको उपाधि परिषद समेतको सल्लाह र सिफारिशमा निश्चित मागदण्ड तोकेर प्रदान गर्न पहल गर्ने छु,’न्यौपानेले भने ।

वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले कानून व्यवसायीको शुद्धिकरण र व्यवसायिक मर्यादामा जोड दिँदै विद्यमान आचारसंहिताबाट कारबाही वा निलम्बन गर्ने प्रावधानको सट्टा ऐनमा संशोधन गरी अधिकार थपेर कानूनी व्यवस्था गर्न पहल गर्ने घोषणा गरेका छन् । त्यसैगरी, अन्तर्राष्ट्रिय मापदण्ड तथा प्रचलनलाई विचार गरेर नेपाल भित्र कानून विषयको अध्ययन अध्यापन हुने सबै विश्वविद्यालयहरुमा समन्वयर सहकार्य गर्ने र गुणस्तरीय कानूनी शिक्षाको विकासका आवश्यक मापदण्ड निर्धारण गरी सिफारिशका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कानून व्यवसायीको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोषको व्यवस्थालाई प्रभावकारी कार्यान्वयनका लागि कटिबद्ध रहने उनले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बार काउन्सिलहरूसँग सहकार्य बढाएर दुई देशबीचका कानून व्यवसायीको दक्षता अभिवृद्धि गर्ने र अनुभव आदानप्रदान गर्न एक्स्चेञ्ज प्रोग्रामका लागि विशेष जोड रहने न्यौपानेले बताए ।

नयाँ कानून व्यवसायीहरुको आत्मविश्वास बृद्धि गर्ने तथा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा शिपमूलक व्यवसायिक प्रशिक्षणका लागि पाठ्यक्रम तयार गर्ने घोषणा पनि उनले गरेका छन् । न्यौपानेले वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा नवप्रवेशी सबै तहका कानून व्यवसायीहरुलाई आवश्यकता अनुसारको तालिम प्रदान गर्ने उद्देश्यले नेपाल बार एशोसिएसन सहकार्य र समन्वय गरी छुट्टै प्रशिक्षण केन्द्र स्थापना गर्न विशेष जोड दिने बताए । नेपाल कानून व्यवसायी परिषदले प्रकाशित गर्ने नेपाल बार काउन्सिल जर्नल र बुलेटिनलाई अझै अनुसन्धानमूलक र नियमित गर्न पहल गर्ने उनले बताए ।

को हुन् गुणनिधि न्यौपाने?

२०५६ मै नेपाल प्राध्यापक संघका महासचिवको जिम्मेवारी पूरा गरेका न्यौपानेले प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष भएर काम गरी सकेकाछन ।

वि.सं. २०१२ चैत १४ गते अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएका गुणनिधि न्यौपाने जन्मिएका न्यौपानेले अरुडीस्थित भृकुटी प्राइमरी स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेकाहुन् । गुल्मीमा रजिस्टेशन गरी कपिलवस्तुबाट २०३० सालमा एसएलसी लेखेका उनले काठमाडौंबाट कानून संकायमा उच्चशिक्षा हासिल गरेकाहुन् ।

एसएलसीपछि आइएससी पढ्न भारत गएका न्यौपाने घर फर्किएर जिल्ला शिक्षा अधिकारीले नियुक्त दिनेगरी लागू भएको नयाँ शिक्षा कार्यक्रम अन्तरगत पढाउन थाले । ६ महिना प्राथमिक विद्यालयमा पढाएका न्यौपानेले आफ्ना दाजु ज्ञानराज न्यौपानेको सुधार अनुसार काठमाडौं आएर कानून पढ्न थाले । नेपाल ल क्याम्पसबाट दुई वर्षे पिसिएल र तीनवर्षे डिप्लोमाइन ल पढे। २०३६ सालमा स्नातकतह पूरा गरे । कानूनको प्रोफेसन बन्ने कुनै सोच थिएन। २०३८ सालबाटै उनले कानून व्यवसायीका रुपमा काम थाले ।

२०४७ सालमा प्राध्यापक भएका न्यौपाने २०४९ मा उपप्राध्यापक, २०५६ मा सहप्राध्यापक र २०६६ मा प्राध्यापक भए । २०६८ सालदेखि २०७२ सालसम्म त्रिभूवन विश्वविद्यालयको रेक्टर भएर काम गरेको अनुभव न्यौपानेसँग छ । तीन दशकभन्दा लामो समयसम्म कानूनी सेवामा सक्रिय रहेका न्यौपानेले देशविदेशमा अध्ययन गरेको अनुभव पनि संगालेका छन् । त्रिभुवन विश्वविद्यालयको रेक्टरको पदावधि सकिएपछि उनी अध्यापन मै फर्किएका थिए ।

प्राध्यापक तथा वरिष्ठ अधिवक्ता न्यौपानेको प्रतिष्पर्धा सत्तारुढ नेकपाका तर्फबाट उम्मेदवार भएका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसँग हुँदैछ ।