काठमाडौँ, २३ माघ (रासस)
यहाँ जारी १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बुधवार भएको खेलमा एपिएफले चितवन टाइगर्सलाई ३–० सेटले हरायो । एपिएफले उक्त खेल २५–१०, २५–१८ र २५–१० अङ्कले जितेको हो । जितसँगै एपिएफले आठ खेलमा २३ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लेको छ । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ढोरपाटन क्लब तथा पारामाउन्ट स्कुललाई पराजित ग¥यो ।
आर्मीले पहिलो खेलमा ढोरपाटनलाई २५–९, २५–९ र २५–११ अंकले हरायो भने दोस्रो खेलमा आर्मीले पारामाउन्ट स्कुललाई २५–१०, २५–२० र २५–९ अंकले पराजित गरेको हो । जितसँगै आर्मीले सात खेलबाट १५ अंक जोडेको छ ।
यसैगरी न्यु डाइमण्ड स्पोर्ट्स क्लबलाई नेपाल पुलिस क्लबले ३–१ को सेटमा हरायो । पुलिसले डायमण्डलाई १४–२५, २५–१९, २७–२५ र २५–१७ अंकले हरायो । पुलिसले प्रतियोगितामा हालसम्म सात खेलबाट १९ अंक जोडेको छ भने न्यु डायमण्डले १२ अंक बटुलेको छ । यस्तै बुलबुले रारा क्लबले चितवन टाइगर्सलाई २५–१९, २३–२५, २६–२४, २२–१५ तथा १६–१४ अंकले पराजित ग¥यो । ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १० टोली सहभागी छन् ।