सुरुङ्गा, १९ माघ (रासस)
सन् २००१ को सर्वेक्षणमा झापामा हात्तीपाइले रोगीको सङ्ख्या २४ प्रतिशत थियो । २०१५ को सर्वेक्षणमा यो दर घटेर ४.१६ प्रतिशतमा झरेको र सन् २०१७ को तथ्याङ्कअनुसार झापामा हात्तीपाइले रोगीको सङ्ख्या २.४ प्रतिशतमा झरेको रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
नियमित औषधि सेवनका कारण यो रोगको संक्रमण फैलन नपाएको र झापामा हात्तीपाइले रोगीको सङ्ख्या घढ्दो अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईंले बताउनुभयो । यो वर्ष पनि माघ २५ गतेदेखि हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाइने कार्यक्रम रहेको चम्लगार्इंको भनाइ छ ।
आगामी फागुन ५ गतेसम्म झापाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामार्फत झापाका आठ लाख २६ हजार पाँच जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउन लागिएको हो । त्यसका लागि जिल्लाभर ६३१ जना स्वास्थ्य स्वयमसेविका,४१६ जना स्वास्थ्यकर्मी परिचालन गर्दै औषधि खुवाउन लागेको कार्यक्रम संयोजक चम्लगार्इंले जानकारी दिनुभयो ।
गत वर्ष झापामा छ लाख ४८ हजार ५४३ ले हात्तीपाइले विरुद्धको औषधि सेवन गरेका थिए । सात लाख ४४ हजार ३५८ लाई औषधि खुवाउने स्वास्थ्य कार्यालयको लक्ष्य रहेपनि ७२ प्रतिशतले औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
हात्तीपाइले रोग निवारका लागि आज झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य प्रमुख पौडेलले भन्नुभयो, “झापामा हात्तीपाइले रोगको दर घट्दो अवस्थामा छ, यसपटक औषधि सेवन गराइसकेपछि यो रोग झापाबाट निवारण हुने अपेक्षा गरिएको छ ।”
नौ लाख २० हजार ८९५ जनसङ्ख्यामध्ये ७० वर्षभन्दा माथिका, तीन वर्षभन्दा मुनिका र गर्भवती तथा सात दिने सुत्केरी महिलाले यो औषधि सेवन नगर्दा पनि हुने कार्यालयका फोकल पर्सन वेदप्रसाद घिमिरेले बताउनुभयो । उहाँले त्यस्ता व्यक्ति झापामा एक लाख १८ हजार २९० रहेको जानकारी दिनुभयो ।
झापामा गत वर्ष ५५४ जनामा योग देखा परेको पत्रकार सम्मेलनमा जनकारी गराइयो । जसमा खुट्टा सुनिएका ३० महिला ७२ जना हाइड्रोसिलका बिरामी ३७२ जना र हात तथा स्तन सुनिने ११० जना रहेको बताइएको छ । हात तथा स्तन सुनिने महिला ३८ जना रहेका छन् भने ७२ जना पुरुषमा पनि यो रोग देखा परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । चालू आर्थिक वर्ष हात्तीपाइले रोग निवारणका लागि झण्डै रु अढाइ करोड झापामा खर्च हुने अनुमान गरिएको छ ।