काठमाडौं, १९ माघ
नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-९ भुतहाबाट कटुवा पेस्तोल १ थान, सोको गोली ५ राउण्ड, चक्कु १ थान, फेनारगन १ सय पिस, डाईजेपाम १ सय पिस, नोर्फिन १ सय पिस, ओनरेक्स ६० थान र फेन्सिडिल २८ थान सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत जिल्ला महाराजगंज कोतवाली थाना बस्ने ४० वर्षीय नासिन अली र सोही स्थान बस्ने ३० वर्षीय धर्मेन्द्र गौड रहेका छन् । सोही स्थानमा प्रहरी चौकी बासा र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले यूपी ५३ भी २५०० नम्बरको भारतीय मोटरसाइकल जाँच गर्नेक्रममा उक्त परिमाणको लागूऔषध र हातहतियार सहित उनीहरूलाई पक्राउ गरेको हो ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-११ खैरहवाबाट कटुवा पेस्तोल १ थान र सोको गोली ६ राउण्ड सहित सोही स्थान बस्ने ३८ वर्षीय दिप लाल रामलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । दिपको घरमा अनुमती बिनाको कटुवा पेस्तोल छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले लुकाईछिपाई राखेको उक्त पेस्तोल सहित दिपलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।