neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्

राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्

Feb 1st, 2020

काठमाडौँ, १८ माघ (रासस)

पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ ।

कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

कूल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

निर्माण शुरु भएको करीब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिनुभयो । विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । यस्तै कूल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ ।