– नारायण न्यौपाने
काठमाडौँ, १८ माघ (रासस)
गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित गर्ने बाबुआमालाई सम्मान गर्ने परिपाटी शुरु गरेसँगै यो तथ्याङ्क जानकारीमा आएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङको घोराहीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा पाँच सैनिकका बाबु रोल्पा थवाङ–३ का ७० वर्षीय कर्णसिंह पुनलाई सम्मान गरी उक्त कार्यको शुरुआत गर्नुभयो । भक्तबहादुर, प्रदीप, राजकुमार, नरजित र लालमुनी पुनका पिता कर्णसिंहलाई सम्मेलनमा रु १० हजार नगद र कदरपत्र प्रदान गरियो ।
सैनिक कल्याणकारी निर्देशनालयका अनुसार सेनाले यस वर्ष एकै घरका चारभन्दा बढी सन्तान सेनामा हुने १५ जना अभिभावकलाई भूतपूर्व सैनिक सम्मेलनमा सम्मान गर्ने कार्यक्रम राखेको छ । प्रत्येक प्रधानसेनापतिको कार्यकालमा हुने भूतपूर्व सैनिक सम्मेलनमा चारभन्दा बढी सन्तान सैनिक सेवामा कार्यरतका अभिभावकलाई सम्मानस्वरुप रु १० हजार र कदरपत्र प्रदान गरिनेछ ।
सेनामा चार–चार जना छोरा भर्ति भएका तेजबहादुर रावल, अनुरुपा बुढा र खड्गबहादुर वली सुर्खेतमा आयोजित भूपू सैनिक सम्मेलनमा सेनाबाट सम्मानित हुनुभयो ।
अटल विश्वास
उहाँहरुलाई प्रदान गरिएको कदरपत्रमा लेखिएको छ, नेपाली सेनामार्फत राष्ट्र र नागरिक सुरक्षा, राष्ट्र निर्माण, प्रकृति संरक्षण, विपद् व्यवस्थापन, विश्व शान्तिजस्ता विशिष्ट सेवामा समर्पित हुन आफ्ना सन्तानलाई प्रेरणा प्रदान गरी सेनाप्रतिको अटल विश्वास, आस्था र सद्भावका लागि पु¥याएको योगदान उच्च मूल्याङकन गरिएको छ ।
पाँच सैनिककी आमा वीरेन्द्र नगरपालिकाका कलादेवी सिँजापतिलाई पनि प्रधानसेनापतिले सोही समारोहमा नगद पुरस्कार र कदरपत्र प्रदान गर्नुभयो । मुलुकमा भूतपूर्व सैनिक र एकल महिलाको सङ्ख्या करीब ७० हजार छ । सम्मेलनका क्रममा तत्क्षेत्रमा तैनाथ सैनिक गणद्वारा प्रस्तुत हुने झाँकीसहितको गीत सङ्गीत र नृत्य मौलिक कला र संस्कृतिको प्रवद्र्धनमा योगदान पुग्दै आएको छ ।
तेघरी व्यारेक धनगढीमा आयोजना हुने सम्मेलनमा चार–चार जना सन्तान सैनिक सेवा रहने अभिभावक हरिसिंह रावत (बैतडी), दत्तराम ओड (डडेल्धुरा) हरिनादेवी भण्डारी (बैतडी) धर्मादेवी ऐर (डडेल्धुरा) ममतादेवी चैसिर (दार्चुला) र रवीलाल पौडेल (बर्दिया)लाई सेनाले सम्मान गर्दैछ ।
छ सैनिकका मातापिता को हुन त !
डोटी, भूमिराजमाडाँै–९ का प्रेमराज र बासुली जैसीका पाँच छोरा र एक छोरी नेपाली सेनामा कार्यरत हुनुहुन्छ । जैसीदम्पतीका छोरा टीकाराम, धर्मराज, छविलाल, भोजराज र हरिश तथा छोरी सरिताकुमारीले सेनाको सङ्गठनमा रही देशको सेवा गर्नुभएको छ । इमामनगर व्यारेक नेपालगञ्जमा हुने कार्यक्रममा चार सैनिकका पिता बर्दिया बाँसगढी नपा–८ रविलाल पौडेल पनि नेपाली सेनाबाट सम्मानित हुनुहुनेछ ।
सम्मेलनका क्रममा भूपू सैनिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका उत्कृष्ट व्यवसायीलाई पुरस्कार, नयाँ उद्यमीलाई सहुलियत ब्याजदरमा कर्जा, ज्येष्ठ भूपू र एकल महिलालाई सम्मान तथा अशक्तलाई ह्वीलचियर प्रदान गर्दै आएको छ ।
नवलपरासीकी ७३ वर्षीया चुमादेवी जिसीका छोरा तिलक, चित्र, रामचन्द्र, रामबहादुर, राजेन्द्र र प्रवीणले सैनिक सेवाबाटै राष्ट्र र जनताको सेवा पु¥याउनुभयो । उहाँहरुकी आमा चुमादेवीलाई सेनाले फागुन १४ गते बुटवलमा आयोजना हुने सम्मेलनमा सम्मान प्रदान गर्ने कार्यक्रम छ । पाल्पा तिनाउ–६ का ८५ वर्षीय कुलबहादुर सारुका चार जना छोरा पनि सैनिक सेवामै हुनुहुन्छ ।
‘चट्टानझैँ दृढ, माहुरीझैँ गोलबद्ध’
सम्मेलनका क्रममा प्रधानसेनापति थापाले गौरवशाली इतिहास र परम्परा बोकेको नेपाली सेनामा प्रवेशका लागि सन्तानलाई अभिप्रेरित गर्न भूतपूर्व सैनिकलाई आह्वान गर्नुभयो । सम्मेलनमा सैनिकले नेतृत्वसँग आफूलाई परेको पीरमर्का सुनाउने र नेतृत्वले त्यसलाई सम्बोधन गर्ने प्रयास हँुदै आएको छ ।
भूतपूर्व सैनिक सम्मेलन यस वर्ष अब धनगढी, बुटवल, नेपालगञ्ज, तनहुँ ९खैरेनीटार० र पोखरामा हुँदैछ । दाङ र सुर्खेतमा भने यही माघ १२ र १३ गते सम्पन्न भइसकेको छ । नेपाली सेना भूतपूर्व सैनिक सम्मेलनका क्रममा प्राप्त सुझावका आधारमा बहालवाला तथा भूपूका लागि शिक्षा, स्वास्थ्य, स्वोरोजगार र सीपमुलुक कार्यक्रम विस्तार गर्दै आएको छ । भूपू सैनिकलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले भन्नुभयो, “हामी सबैलाई सदा चट्टानझैँ दृढ, माहुरीझैँ गोलबद्ध र एकीकृत रहन प्रेरणा मिलोस् ।”