neapl investment mega bank
  • गृहपृष्ठ
  • सूर्यविनायक नगरपालिकाले आफ्नै भवन बनाउँदै

सूर्यविनायक नगरपालिकाले आफ्नै भवन बनाउँदै

Feb 1st, 2020

आधारभूमी संवाददाता
काठमाडौं ,१८ माघ

सूर्यविनायक नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गर्ने भएको छ । आगामी दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

भवन निर्माणको शिलान्यास गत विहीवार नगरप्रमुख बासुदेव थापाले गरेका हुन् ।

नगरप्रमुख थापाले आफू निर्वाचित भएदेखिनै नगरपालिकाको भवन निर्माणलाई पहिलो प्राथमिकता राखेको तर, केही प्राविधीक कारणले ढिला भएको बताए ।

नगरपालिकाको भवन अत्याधुनिक र सेवाग्राहीमैत्री हुने थापाले जानकारी दिए । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ स्थित कटुन्जेमा ६ रोपनी ११ आना जग्गा क्षेत्रफलमा सो भवन निर्माण हुन लागेको हो ।

नगरपालिकाको भवनले चर्चेको क्षेत्रफल ८ हजार ८१० वर्गफिटमा फैलिने छ । साढे ४ तल्लाको संरचनामा निर्माण हुने उक्त भवन परिसरमा १०० वटा गाडी पार्किङ क्षमताकोे अण्डरग्राउण्ड २ तलामा पार्किङ सेवाको व्यवस्था हुने बताइएको छ ।

थापाले अबको दुई बर्षभित्र नगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरु भाडा तिरेर बस्नु पर्ने अवस्थाको अन्त्य गरिने बताए । हाल नगरपालिकाको ३, ६ र ९ नम्बरको आफ्नै भवन निर्माण कार्य अगाडि बढिरहेको समेत नगरप्रमुख थापाले बताए ।

२ सय १० जना क्षमता भएको सभा हल र ८० जना क्षमता भएको बैठक हल र ४८ वटा कोठा भवनमा रहने प्रमुख थापाले जानकारी दिए ।

सो भवन पूर्णसेवाग्राही मैत्री हुनुका साथै भवनमा २ वटा लिफ्ट पनि हुने वताइएको छ । प्रशासन, बैठक हल, कार्याक्रम हल, शौचालय, स्तनपानकक्षलगायतका संरचना भवनमा हुनेछन् ।

भवन निर्माणको जिम्मेवारी भ्याली बाबुरत्न निर्माण सेवाले लिएको छ । भवनको कूल लागत कर बाहेक २० करोड ४१ लाख रकम रहने छ ।