काठमाडौँ, १७ माघ (रासस)
नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी पूर्वी क्षेत्रीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताका लागि आज १८ खेलाडी छनोट गरेको छ ।
आगामी फागुन १५ देखि २३ गतेसम्म थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले सार्वजनिक गरेको टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, विनोद भण्डारी, करण केसी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, आरिफ शेख, सन्दीप लामिछाने, अभिनाश बोहोरा, पवन सराफ, कुशल मल्ल, सन्दीप जोरा, भुवन कार्की, सुशन भारी, किशोर महतो, लोकश बम, रोहित पौडेल र शेर मल्ल रहेका छन । शेर मल्ल पहिलोपटक सिनियर टोलीको १८ खेलाडीभित्र पर्नुभएको छ ।
यस्तै भुवन कार्की लामो समयपछि टोलीमा पर्न सफल हुनुभएको छ । क्यानले आज जारी गरेको १८ खेलाडीको सूचीबाट १४ खेलाडी छनोट गर्नेछ । सो प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा आयोजक थाइल्यान्ड, मलेसिया र म्यान्म छन् । यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, भूटान र चीन छन् । नेपालले पहिलो खेल चीनसँग, दोस्रो खेल थाइल्यान्ड तथा तेस्रो खेल मलेसियासित खेल्नेछ । दुवै समूहको शीर्ष दुई–दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । उक्त प्रतियोगिताको विजेता टोली पाकिस्तानमा आयोजना हुने एसिसी एशिया टी–२० कपका लागि छानिनेछ । प्रतियोगितामा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानले समेत खेल्नेछन् ।