neapl investment mega bank
  • गृहपृष्ठ
  • वडा कार्यालयलाई करिब रु दश लाख मूल्य बराबरको जग्गा प्रदान

वडा कार्यालयलाई करिब रु दश लाख मूल्य बराबरको जग्गा प्रदान

Jan 31st, 2020

बागलुङ, १७ माघ (रासस)

गलकोट नगरपालिका–९ को भवन निर्माणका लागि स्थानीयवासीले आधा रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । स्थानीय हुमकुमारी, दुर्गाबहादुर र यमबहादुर थापाले करिब रु दश लाख मूल्य बराबरको जग्गा दिएको वडा कार्यालयले जनाएको छ ।

जग्गादाता एकाघरका आमा, छोराहरु हुनुहुन्छ । वडा कार्यालयको भवन निर्माणका लागि चाहिने बाँकी साढे दुई रोपनी जग्गा थापा परिवारबाटै खरिदका लागि प्रकृया अघि बढेको वडाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । जग्गा प्राप्तिको टुङ्गो लाग्ने बित्तिकै भवन निर्माणको काम तत्कालै अघि बढ्ने उहाँको भनाइ छ । भवन निर्माणका लागि रु ८० लाखको बोलपत्र खुलिसकेको छ । आफ्नै भवन नहुँदा वडा कार्यालय हाल विद्यालयबाट सञ्चालित छ ।

वडाले मासिक रु छ हजार तिरेर स्थानीय भैरव माविका खाली कोठा प्रयोग गर्दै आएको छ । ९ नंं वडा साविकको मल्म गाविस विभाजित भएर बनेको नयाँ वडा हो । वडा कार्यालय अघिल्लो वर्षदेखि नै जग्गाको खोजीमा लागेको थियो । “जग्गा व्यवस्थापन भइसकेको छ, अब मापदण्ड अनुसारको व्यवस्थित र सुविधायुक्त भवन बन्छ”, वडाध्यक्ष थापाले भन्नुभयो । उक्त वडामा स्वास्थ्यचौकी भवन निर्माणको प्रकृया पनि अघि बढेको छ । रु एक करोड ३० लाखको बोलपत्र आव्हान भएको वडा कार्यालयले जनाएको छ ।

गलकोट नगरपालिका–१, ४, ६ र ९ वडा कार्यालय हाल भवनविहीन छन् भने जिल्लाभरमा कुल ३८ वडा कार्यालयका आफ्नै भवन छैनन् । जग्गा अभावमा वडा भवन, स्वास्थ्यचौकीजस्ता भौतिक संरचना निर्माणमा ढिलाइ भइरहेको जनप्रतिनिधि बताउँछन् ।