neapl investment mega bank
  • गृहपृष्ठ
  • ब्याज सस्तिदा पनि ऋण माग्न आएनन्, किन सुस्तायो कर्जा ?

ब्याज सस्तिदा पनि ऋण माग्न आएनन्, किन सुस्तायो कर्जा ?

Jan 31st, 2020

आधारभूमी संवाददाता
काठमाडौं, माघ १७

पछिल्लो समय बैंकहरुले ठूला ऋणीलाई आधार दरकै हाराहारीमा कर्जा प्रदान गरिरहेका छन् भने साना ऋणीलाई ३ देखि ४ प्रतिशत प्रिमियम जोड्ने गरेका छन् । तर पनि बैंकमा ऋण माग्नेहरु भने आएका छैनन् । त्यसैले बैंकहरुले पछिल्लो समय ग्राहक खोज्दै हिड्न थालेका छन् ।

नेपाल बैंकर्स एसोसिएसन्ले उपलब्ध गराएको तथ्यांक अनुसार पुुुसको अन्तीम सातामा बाणिज्य बैंकहरुले प्रदान गरेको कर्जा २७ खर्ब ३१ अर्ब रहेकोमा माघको पहिलो सातामा यो घटेर २७ खर्ब १५ अर्ब कायम भएको छ ।

बैकिङ क्षेत्रमा अहिले १४ अर्ब मात्रै तरलता छ भने अन्तर बैंक ब्याजदर ४ दशमलव ५६ प्रतिशत रहेको छ । बजारमा अधिक तरलता नहुदा पनि बैंकहरु भने ऋणी खोज्दै हिड्न थालेका छन् ।

गत वर्षसम्म उद्योगी तथा ब्यापारीहरुले कर्जाको ब्याजदर महंगो भएको र यसले लगानी विस्तारमा बाधा पुगेको बताउथे । ब्याजदर महंगै भएका समयमा पनि बैंकबाट जाने कर्जा गत वर्षको ५ महिनामा २४ प्रतिशतले बढेको थियो । आधार ब्याजदर भन्दा तल गएर बैंकहरुले कर्जा दिन पाउदैनन् ।

अहिले बैंकहरुले कर्जामा लिने गरेको ब्याजदर घटाएका छन् । गत वर्षको मंसिरमा कर्जाको औसत ब्याजदर १२ दशमलव ३२ प्रतिशत थियो । जुन यसपाली घटेर ११ दशमलव ९३ प्रतिशत छ । साथै बैंकहरुको आधार ब्याजदर पनि गत वर्ष १० दशमलव ३ प्रतिशत रहेकामा यो वर्षको मंसिरमा ९ दशमलव चार छ कायम भएको छ ।

राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीति मार्फत व्यवसायीले बैंकमा पेश गरेको र कर कार्यालयमा पेश गरेको वित्तीय विवरण एउटै हुनुपर्ने व्यवस्था गरेको थियो । जसका कारण साना तथा मझौला लगानीकर्ता बैंकबाट ऋण लिन डराइरहेका छन् । किनकी गत वर्ष सम्म यस्ता लगानीकर्ताले बैंकबाट ऋण लिन नाफा धेरै बढेको देखाउथे भने कर कार्यालयमा नाफा कि थोरै कित घाटामै रहेको देखाउथे ।

सरकारले बिकास निर्माणका काम अघि नबढाएकाले निर्माण सामाग्री सम्वद्ध उद्योगले अहिले लगानी विस्तार गरेर उत्पादन बढाउने स्थिती छैन । जसका कारण पनि बैंकमा कर्जाको माग कम भएको हो ।

राष्ट्र बैंकले पछिल्लो समय सवारी साधनमा प्रदान गरिने कर्जामा केहि कडाई गरेको छ । अनुत्पादक ठानिएका क्षेत्रहरुमा राष्ट्र बैंकले कडाई गर्दैगर्दा उत्पादनशिल क्षेत्रले आफ्नो लगानी विस्तार गरेका छैनन् ।