इस्लामावाद, १५ माघ (राससरसिन्ह्वा)
पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ । अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो ।
‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अइशा फारुक्वीले अफगानिस्तानसँगको नाकास्थलमा आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएको बताउनुभयो ।
“हामीले अफगानिस्तानसँग कुराकानी गर्ने र सम्पर्क गर्ने गरिरहेका छौँ, अहिले बन्द गरिएको नाका चाँडै नै खुला हुन्छ भन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । नाका बन्द भएपछि पाकिस्तान तथा अफगानिस्तान दुवैतर्फ ठूलो सङ्ख्यामा आम नागरिक तथा सवारी साधनहरु अलपत्र परेको पत्रकार राहत शिन्वारीले सिन्ह्वालाई जानकारी दिनुभयो । “नाका अहिले बन्द अवस्थामा रहेको छ”, शिन्वारीले भन्नुभयो ।
अफगानिस्तानको पूर्वी नानगार्हार प्रान्तका अधिकारीहरुले पनि सीमानाका बन्द गरिएको पुष्टि गरेका छन् । नानगार्हारका प्रवक्ता अतुल्लाह खोग्यानीले दुवै देशका अधिकारीहरुका बीचमा कुराकानी भइरहेको जानकारी दिनुभयो । उहाँहरुले नाका पुनः खुला गर्ने बारेमा पनि कुरा गर्नुभएको खोग्यानीको भनाइ छ ।