neapl investment mega bank
  • गृहपृष्ठ
  • उपभोक्ता ठगि कार्यमा संलग्नहरुलाई कारवाही गर्न सरकार सक्रिय

उपभोक्ता ठगि कार्यमा संलग्नहरुलाई कारवाही गर्न सरकार सक्रिय

Jan 29th, 2020

काठमाडौं, माघ १५

पछिल्लो समय उपभोक्ताहरुमाथि विभिन्न बहानामा ठगिने क्रम बढिरहेको विषयलाई ध्यान दिँदै सरोकारवाला निकायले कारबाहीलाई तदारुकता दिएको जानकारी दिएका छन् । बजारमा निर्माण, औषधी, खाद्यान्न लगायत सामाग्रीमा ठगी भइरहेको गुनासा आएको सन्दर्भमा तराई विकास तथा सञ्चार केन्द्र नेपालले बुधबार गरेको कार्यक्रममा यस्तो जानकारी दिएको हो । यही सन्दर्भमा ‘बजार अनुगमन, अपराध अनुसन्धानमा लागूऔषधको अवस्था र नियन्त्रणका उपाएहरु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौ जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको उदेश्य पूर्तिका लागि दत्तचित्त भएर लागेको बताउनुभयो । हाल काठमाडौ उपत्यकाभित्र घट्ने विभिन्न किसिमका अपराधिक घटना र उपभोक्ता ठगीका घटनाहरु न्यूनीकरण गर्न आफूँहरु सक्रिय भएर लागेको बताउनुभयो । उहाँले नागरिकता, राहदानी लिने क्रममा समेत विचौलियाबाट सेवाग्राहीहरु ठगिँदै आएकाले यस विषयमा आम नागरिकहरु सचेत हुन आग्रह गर्नुभयो ।

यसैगरी शान्ति सुरक्षाको हिसाबले काठमाडौ उपत्यका शतप्रतिशत सुरक्षित रहेको जिकिर गर्दै उहाँले भन्नुभयो –‘काठमाडौ उपत्यका जुनसुकै कोणबाट सुरक्षित छ, यसको लागि हामी उत्तिकै सचेत पनि छौँ ।’ आफूँहरुले विगतमा जस्तै विभिन्न चाडपर्वहरु शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सफल भएको बताउँदै शान्ति सुरक्षामा काठमाडौ जिल्ला प्रशासन कार्यालय चुस्त दुरुस्त भएको जिकिर गर्नुभयो । उहाँले जिल्लामा लागू औषधको दुव्र्यसनीको सन्दर्भमा कुरा राख्दै काठमाडौ जिल्लाभित्र लागूऔषध दुव्र्यसन रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी प्रशासनलाई सक्रिय भएर लाग्न निर्देशन दिएको जानकारी गराउनुभयो । घरघरबाटै दुव्र्यसन रोक्ने अभियानमा लाग्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो –‘३ सय भन्दा बढी कानुन बनिसकेका छन् अब प्रभावकारी सेवा प्रदान गर्ने कामलाई तदारुकता दिइन्छ ।

त्यसैगरी कार्यक्रममा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विगतमा भएका कामहरुलाई सम्मान गर्ने र बाँकी कामहरुलाई प्राप्त सुझावका आधारमा विभाग अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले उपभोक्ताहरुको हितका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको बताउँदै भन्नुभयो–‘एसएमएस सिस्टम, क्यु सिस्टम, विद्युतीय हाजिरी, उपभोक्ता सहायता कक्षाहरु अप्रेसनमा ल्याएका छौँ ।’

विभागले हाल व्यवस्थित तरिकाले अनुगमन गरिरहेको बताउँदै उहाँले भन्नुभयो –‘सूचना र मापदण्डमा आधारित व्यवस्थित अनुगमन र दिगो खालको प्रभावकारी अनुगमन गरिरहेका छौँ ।’ अनुगमन सूचना प्रणालीमा आधारित हुनुपर्नेमा उहाँको जोड थियो । कालाबजारीमा संलग्न व्यक्तिहरुमाथि मुद्दा समेत चलाइएको उहाँले जानकारी दिनुभयो ।


त्यसैगरी अनुगमनमा जाने टोलीका सदस्यहरुलाई आचारसंहिता निर्माण गरेको उल्लेख गर्दै उहाँले अब छिट्टै नै पालना भए नभएको अनुगमन गरिने बताउनुभयो । महानिर्देशक सुवेदीले विभागले दिनहुँजस्तो अनुगमन गरिरहेको दाबी गर्दै भन्नुभयो –‘उपत्यकाभित्र र बाहिर अनुगमन गरिरहेका छौँ तर अनुगमन भने उजुरी गरेकै भरमा होइन, क्रसचेक गर्ने गरेका छौँ ।’

बजारमा फलामे डण्डी, सिमेन्ट, स्टील तथा उपभोग्य बस्तुहरुमा ठगी भइरहेको गुनासो आइरहेकोले दोषीलाई कारबाही गर्न विभाग तत्काल लाग्ने महानिर्देशक सुवेदीले बताउनुभयो । त्यसैगरी कार्यक्रममा औषधी व्यवस्था विभागको महानिर्देशक नारायणप्रसाद ढकालले औषधी व्यवस्था विभागले विदेशबाट स्वदेशमा भित्रिने औषधीहरुको गुणस्तरीयता, बजार व्यवस्थापन, फार्मेसीहरुको अनुमगन गर्दै आएको जानकारी दिनुभयो । त्यसैगरी विभागले औषधीको समुुचित प्रयोगलाई प्रवद्र्धन गर्ने क्रियाकलाप सक्रिय भएको बताउनुभयो ।

उहाँले कसैलाई कारबाही गर्ने भन्दा पनि सबै पक्षलाई जिम्मेवार भई काम गरोस् गलत काम नगरोस् भन्ने खालको वातावरण सिर्जना गर्न विभाग लागि परेको बताउनुभयो । त्यसैगरी कार्यक्रमा साल्ट टेडिङ्ग कर्पोरेशनका डिजिएम ब्रजेश झाले साल्ट टेडिङ्गले आफ्ना संस्थाबाट उपलब्ध गराउँदै आएका सामाग्रीहरु बजारको भन्दा सुलभ मूल्य र गुणस्तरीय सामाग्रीमा सम्झौता नगरेको जानकारी दिनुभयो । साथै सरकारले लिएको उदेश्यअनुसार जनमानसलाई सहज र सुपथ रुपमा नुन, तेल, गेडागुडीसहितका खाद्यान्न उपलब्ध गराएको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले बजारमा उपभोक्ता ठगिएको गुनासा आएको, आम जनताले सरकार भएको अनुभूति गर्नका लागि सरोकारवाला निकायले काम गर्नुपर्ने भएकोले त्यसअनुरुप गर्न आग्रह गर्नुभयो ।