neapl investment mega bank
  • गृहपृष्ठ
  • बागलुङमा मोटरेबल पुलले जोड्यो प्रसिद्ध पर्यटकीय गन्तव्य ढोरपाटन आरक्ष र निसीखोला गाउँपालिका

बागलुङमा मोटरेबल पुलले जोड्यो प्रसिद्ध पर्यटकीय गन्तव्य ढोरपाटन आरक्ष र निसीखोला गाउँपालिका

Jan 29th, 2020

गलकोट, १५ माघ (रासस)

बागलुङ जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य ढोरपाटन आरक्ष र निसीखोला गाउँपालिकालाई मोटरेबल पुलले जोडेको छ ।

निसी र ढोरपाटनका क्षेत्रका बासिन्दालाई लक्षित गरी ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बजार छेउ रहेको लक्ष्मीकुण्ड घाटको बडिगाड खोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।

२०७४ माघ ९ गतेदेखि निर्माण शुरु भएको उक्त पुल दुई वर्षमा निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि पुल सञ्चालनमा ल्याइएको हो । पुल निर्माण भएसँगै ढोरपाटन शिकार आरक्ष तथा बागलुङको निसीखोला गाउँपालिका र रुकुम क्षेत्रका जनतालाई सिधा आवतजावतमा सहजता हुने भएको हो । पुल नबन्दा बर्खाको समयमा निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको अधिकांश भाग सडक सञ्जालबाट बिच्छेद हुँदै आएको थियो ।

निर्माणाधीन मध्यपहाडी पुुष्पलाल लोकमार्गले बागलुङ बजारदेखि निसी हुँदै रुकुम जोडे पनि मोटरेबल पुलको अभावमा सिधा यातायात चल्न सकेको थिएन । पुल नबन्दा बुर्तिवाङ शहरबाट हिँडेर बडिगाड खोलापारि गएर पुन यातयात चढ्नुपर्ने बाध्यताको अन्त्य भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो ।

६० मिटर लम्बाइ रहेको उक्त पुल रु छ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भएको पुल निर्माण कम्पनी दिवा निर्माण सेवा प्रालिका साइड इञ्चार्ज सुरेश बजगार्इंले बताउनुभयो । २०७२ सालमा बोलपत्र भएको पुल प्राविधिक समस्याका कारण दुई वर्षपछि मात्र निर्माण शुरु भएको थियो ।

पुल निर्माणसँगै नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष पुुग्नका लागि १२ महिना सिधा यातयात सञ्चालन हुने ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले बताउनुभयो । “हामी सबैको निरन्तर प्रयासपछि पुल निर्माण गर्न सफल भयौँ”, नेपालीले भन्नुभयो, “मोटरेबल पुलले दुई स्थानीय तहलगायत रुकुम जिल्लासम्मको सिधा यातयातलाई जोडेको छ ।” पुलको मंगलबार ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले उद्घाटन गर्नुभयो ।

यस्तै बुर्तिवाङ बजार नजिकै सेराघाटमा मध्यपहाडी लोकमार्ग आयोजनाले निर्माण गर्न लागेको पुलको काम आधा सम्पन्न भएको छ । जेठ मसान्तसम्म पुल ढलान हुने गरी काम भइरहेको छ । उक्त पुलसमेत २०७४ सालदेखि निर्माण शुरु भएको हो । ४० मिटर लामो सेराघाट पुलको दुवैतर्फको पिल्लर निर्माणको काम करिब अन्तिम चरणमा पुगेको हो ।