neapl investment mega bank
  • गृहपृष्ठ
  • दानाबारी–राजदुवाली सडक कालोपत्रको शिलान्यास

दानाबारी–राजदुवाली सडक कालोपत्रको शिलान्यास

Jan 27th, 2020

पशुपतिनगर, १३ माघ (रासस)

छ दशक अघि यातायात चल्न शुरु गरेको झापादेखि इलाम जोड्ने दानाबारी (सुखानी) –राजदुवाली (इलाम) सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएका छन् । विसं २०१७ मा इलामका तत्कालीन बडा हाकिम सन्तवीर लामाले ट्याक्सी चढेर इलाम गएको बाटो विभिन्न कारणबाट ओझेलमा परेको थियो ।

प्रदेश सरकारको पहलमा सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएका हुन् । स्थानीय व्यवसायी सावित्रा ढकाल कालोपत्र सडक निर्माणपछि दानाबारी क्षेत्रले विकासमा फडर्को मार्ने आशा रहेको बताउनुहुन्छ । हिम्ङुङ्ग एण्ड थोकर कन्स्ट्रक्सन प्रालि धापासी काठमाडौँले रु ४५ करोड ४७ लाख १५ हजार ८१९ मा सडक निर्माणको ठेक्का पाएको छ । आगामी २०७९ असार मसान्तमा सम्पन्न गर्ने गरी सडक कालोपत्रको सम्झौता गरिएको छ ।

सात मिटर चौडा रहने कालोपत्र पहिलो चरणमा सुखानीदेखि लोदिया बगैचासेरोसम्म १४ दशमलव सात किलोमिटर सम्पन्न गरिने भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नम्बर १ का सचिव राजेश घिमिरेले जानकारी दिनुभयो । सडकको आज प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गरेपछि स्थानीयको मुहारमा खुशी छाएको हो । मन्त्री आङ्बोले विगतमा भएका राजनितिक अस्थिरताको शिकारमा परेको सडक आगामी ३० महिनामा सम्पन्न हुने बताउनुभयो ।

प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा रमणले गुणस्तरीय सडक निर्माणका लागि स्थानीय बासिन्दा जागरुक हुनुपर्ने धारणा राख्नुभयो । त्यसैगरी सो क्षेत्रबाट प्रदेशसभामा विजयी सदस्य काजीमान कागतेले जनताको आवश्यकता र वर्षौदेखि भोगेको सास्तीलाई बुझेर सडक कालोपत्र माग गरेको बताउनुभयो । उहाँले प्रदेशसभाको चुनाव ताका गरेको प्रतिबद्धता पूरा भएकामा खुशी व्यक्त गर्नुभयो ।

नगर प्रमुख दीपककुमार थेवेले इलाम र झापा जोडने यो सडक मेरुदण्ड भएको बताउनुभयो । बर्खाको समयमा हुने सास्तीबाट नगरवासी मुक्त हुने भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । सडक कालोपत्र भएपछि इलामबाट झापा झर्नेका लागि सहज हुनेछ । सो बाटो हुँदै इलाम सदरमुकामबाट झापाको विर्तामोड पुग्न करिब ५३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।