neapl investment mega bank

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

Jan 27th, 2020

चितवन, १३ माघ (रासस)

खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइतबार राति १०ः४५ बजे अज्ञात समूहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । कोइरालाका अनुसार दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहायताले राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगो लगाउने समूहको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

सिन्धुली स् सिन्धुलीको मरिण गाउँपालिका–७ मा रहेको एनसेलको टावरमा आगजनी भएको छ । गएराति एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार एनसेलको टावर पूर्णरूपमा क्षति भएको छ । उहाँका अनुसार टावरमा कसले आगजनी ग¥यो भन्ने खुल्न सकेको छैन । घटनामा संलग्नको खोजी भइरहेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै गएराति रामेछाप जिल्लामा पनि एक एनसेल टावरमा आगजनी भएको छ । अज्ञात समूहद्वारा दोरम्बा गाउँपालिका–७ गुम्सीमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार टावरमा रहेका तारहरु जलेर क्षति पुगेको छ । घटनामा संलग्नको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

बेझाड पाल्पाको बगनासकाली गाउँपालिका–९ स्थित बगनासडाँडामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । आइतबार राति करीब पौने १० बजेको समयमा टावरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दीपेन्द्र जिसीले बताउनुभयो । आगलागीबाट टावरमा पूर्णरूपमा क्षति पुगेको छ ।

बोरामा खर राखेर आगो सल्काएको पाइएको छ । टावरको जेनेरेटर, बिटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटरबक्ससहित तार पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सर्लाही स् सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरमा रहेको एनसेल टावरमा विस्फोट गराइएको छ । लालबन्दी नगरपालिका–१६ स्थित टावरमा आइतबार राति एनसेल टावरमा विस्फोट गराउँदा सोलार प्यानल, युपिएस तथा तारहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो ।

एनसेल टावरमा विस्फोटबाट सामान्य समस्या रहेको र सामान्य मर्मत गरेपछि केही समयमा नै सञ्चालन गर्न सकिने पोखरेलले बताउनुभयो । टावरमा विस्फोट कसले गरेको हो यकिन भएको छैन । सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको प्रहरीले जनाएको छ ।

परासी स् पश्चिम नवलपरासीमा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको रामग्राम नगरपालिका–९ करमैनीस्थित चन्द्रशेखर पाठकको खेतमा रहेको एनसेल टावरमा गएराति आगजनी भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट टावरको अगाडि भागको तार जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।