neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले मुलुकका प्रमुख दश विमानस्थलको सरसफाइ सम्परीक्षण गरिँदै

सरकारले मुलुकका प्रमुख दश विमानस्थलको सरसफाइ सम्परीक्षण गरिँदै

Jan 24th, 2020

काठमाडौँ, १० माघ (रासस)

नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सरकारले मुलुकका प्रमुख १० विमानस्थलको सरसफाइको सम्परीक्षण (अडिट) गर्ने भएको छ । विदेशी पर्यटकको पहिलो नजर पर्ने र देशको अवस्थालाई झल्को दिने देशको ऐनाका रुपमा रहेको विमानस्थलको सरसफाइलाई प्रभावकारी बनाउन सरोकारवाला संस्थासँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको मौजुदा सरसफाइको अडिट गर्न लागेको हो ।

उक्त प्रयोजनका निम्ति पर्यटनमन्त्रीको उपस्थितिमा गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग छलफलपछिको निर्देशनबमोजिम यही माघ ८ गते विमानस्थलको सफाइ अडिट गर्ने सम्झौता भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्झौताअनुरुप पर्यटन मन्त्रालय र गैरआवासीय नेपाली सङ्घबीच स्वयंसेवीका रुपमा १० विमानस्थलको स्थलगत भ्रमण गरी ती स्थानमा हालको सरसफाइको अवस्थाको अडिट गरी र तोकिएको समयभित्र मन्त्रालयसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ । आगामी फागुन २० देखि चैत १९ सम्म (एक महिनाभित्र) मन्त्रालयलाई सरसफाइ अडिट प्रतिवेदन बुझाउने सम्झौतामा उल्लेख छ । विमानस्थलमा विद्यमान सरसफाइको मौजुदा अवस्थाको जानकारी लिने र प्राप्त सुझावका आधारमा भावी दिनमा विमानस्थललगायत अन्य सांस्कृतिक तथा पर्यटकीयस्थलमा समेत सरसफाइलाई थप प्रभावकारी बनाइने जनाइएको छ ।

मुलुकका व्यस्त ठूला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्राष्ट्रिय)सहित विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, भरतपुर विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज विमानस्थल र धनगढी विमानस्थलको सरसफाइ अडिट गरिने विज्ञप्तिमा उल्लेख छ ।