neapl investment mega bank
  • गृहपृष्ठ
  • हास्य सम्राट् अर्यालको शालिक व्यवस्थित गर्न माग

हास्य सम्राट् अर्यालको शालिक व्यवस्थित गर्न माग

Jan 24th, 2020

काठमाडौँ, १० माघ (रासस)

हास्यव्यङ्ग्यकार भैरव अर्यालको जोरपाटी चोकमा रहेको शालिक र उद्यान सडक विस्तार गर्दा भत्काएर माटाले पुरिएकामा भैरव पुरस्कार गुठीले आपत्ति जनाएको छ ।

विसं २०४६ मा स्थापना भएको गुठीकै अग्रसरतामा तत्कालीन जोरपाटी गाउँ विकास समितिको सहयोगमा जोरपाटी चोकको खाली जग्गामा उद्यान र शालिक निर्माण गरिएको थियो । गाउँ परिषद्को निर्णयअनुसार बनाइएको संरचना भत्काउँदा शालिकमा समेत असर गरेकाले त्यसको संरक्षणका लागि बिहीबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई ध्यानाकर्षण गराइएको गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो ।

तत्कालीन गाविसले बगैँचामा मालीको समेत व्यवस्था गरेको थियो । त्यो व्यवस्थासमेत हटाइँदा बगैँचा फस्टाउन सकेको छैन । कङ्क्रिटको जङ्गलले भरिएको जोरपाटीको बीचमा रहेको बगैँचाले वातावरणीय सन्तुलनमा सहयोग गर्ने भए पनि यसको संरक्षणमा नगरपालिकाको ध्यान जान नसकेको गुठीले जनाएको छ । गुठीको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै नगर प्रमुख चालिसेले बगैँचा र शालिक संरक्षणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नगरपालिकाले गुठीलाई संरक्षणको जिम्मेवारी दिए आफ्नै खर्चमा समेत काम गर्न तयार रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । अर्यालको स्मृतिलाई चिरकालसम्म जीवन्त राख्न र भावी पुस्तालाई उत्साहको अजस्र स्रोतका रुपमा स्थापित गर्न पनि उहाँको सालिकलाई नमूनाका रुपमा दिगो बनाइराख्नुपर्ने गुठीको माग छ । गुठीले अर्यालले लेख्नुभएका पुस्तकको प्रकाशन, हास्यव्यङ्ग्य क्षेत्रमा कलम चलाउने साहित्यकारलाई सम्मानलगायत साहित्यिक गतिविधि गर्दै आएको छ ।