बागलुङ, १० माघ (रासस)
गलकोट नगरपालिका–६ को भवन निर्माणका लागि स्थानीयवासीले एक रोपनी दुई आना जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
चरौँदीका मानकुमारी उप्रेती, टेकबहादुर उप्रती र तिलक उप्रेतीले करिब रु ५० लाख मूल्य बराबरको जग्गा प्रदान गर्नुभएको वडा कार्यालयले जनाएको छ । जग्गा प्राप्तिसँगै भवन निर्माणको काम तत्कालै अघि बढ्ने वडाध्यक्ष नरबहादुर खत्रीले जानकारी दिनुभयो । “जग्गाको नामसरी वडालाई आइसक्यो”, उहाँले भन्नुभयो, “भवन निर्माणका लागि ठेक्काको प्रक्रिया पनि टुङ्गी सकेको छ ।”
वडाको भवन बनाउन चालू आवमा रु ८० लाख बजेट विनियोजन भएको छ । आफ्नै भवन नहुँदा वडा कार्यालय हाल भाडाको कोठाबाट सञ्चालित छ । जग्गादाताले दिएको एक रोपनी दुई आना र एक रोपनी सार्वजनिक जग्गामा भवन बन्ने जनाइएको छ ।
“वडा कार्यालयलाई जग्गा अभाव भएपछि हाम्रो परिवार मिलेर जग्गा दिने निर्णय ग¥र्यौँ”, जग्गादाता तिलक उप्रेतीले भन्नुभयो । मापदण्ड अनुसारको व्यवस्थित र सुविधायुक्त वडा भवन बन्नुपर्नेमा स्थानीयवासीको जोड छ । यसअघि सोही ठाउँमा स्वास्थ्य चौकी भवनका लागि मानकुमारीले एक रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । थप जग्गा व्यवस्थापन गरेर स्वास्थ्य चौकी भवन निर्माणको काम अगाडि बढाउने वडाको योजना छ । जग्गा अभावमा जिल्लाका कतिपय वडाका कार्यालय भवन, स्वास्थ्य चौकीजस्ता भौतिक संरचना निर्माणमा ढिलाइ भइरहेको छ ।