neapl investment mega bank
  • गृहपृष्ठ
  • कामपाद्वारा काष्ठमण्डप पुनः निर्माणका लागि रु पाँच करोड रकम प्रदान

कामपाद्वारा काष्ठमण्डप पुनः निर्माणका लागि रु पाँच करोड रकम प्रदान

Jan 23rd, 2020

काठमाडौँ, ९ माघ (रासस)

काठमाडौँ महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माणका लागि थप रु पाँच करोड रकम प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

काष्ठमण्डपलाई छिटो, मौलिकस्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेशसभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौँ महानगरबीच सहमति भएपछि गत वर्षको जेठ २९ गते काम थालनी गर्न कामपाले रु ५० लाख र त्यसै वर्षको असोज २७ गते थप रु पाँच करोड उपलब्ध गराइसकेको थियो ।

रकम हस्तान्तरण गर्दै कामपाका प्रमुख शाक्यले गोर्खा भूकम्पका कारण क्षति भएको र आफ्नो अधिकारक्षेत्र भित्रपर्ने सबै सम्पदाको पुनःनिर्माण आफ्नै कार्यकालमा सक्ने दाबी गर्नुभयो । एतिहासिक र सांस्कृतिक संम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी कामपाको रहेको भन्दै प्रमुख शाक्यले ३२ वटै वडाका अध्यक्षलाई सम्पदाको निर्माणमा जुट्न निर्देशन दिनुभयो ।

सो अवसरमा सङ्घीय संसद् सदस्य कृष्णगोपाल श्रेष्ठले महानगरको नेतृत्वमा उदाहरणीय काम भएको टिप्पणी गर्नुभयो । यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पुनःनिर्माणको करिब ५५ प्रतिशत काम समाप्त भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी गराउनुभयो । काष्ठमण्डप पुनःनिर्माण कामपाको महत्वपूर्ण।जिम्मेवारी भएको हुँदा, महानगरकै नेतृत्वमा गठित निर्देशक समितिसँग नियमित छलफल, अन्तक्र्रिया गरी प्राप्त राय सुझावका आधारमा पुनःनिर्माण समितिले काम गरिरहेको छ । पुनःनिर्माण कार्यको नियमित अनुगमन, सुपरीवेक्षण गर्ने र निर्माणको क्रममा तत्काल सुधार गर्नुपर्ने काम गर्न गराउन महानगरका प्रमुख अध्यक्ष र उपप्रमुख, सरोकार राख्ने वडाध्यक्षसहितको निर्देशक समितिको व्यवस्था गरिएको छ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । अघिल्लो कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभत्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माण गति लिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन रहेको काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार वटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

यस ऐतिहासिम सम्पदा पुनःनिर्माणको लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । चार वर्षभित्र निर्माणकार्य सक्नेगरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।