neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्यात बढ्दा अर्थतन्त्र सुधारको संकेत : व्यापार घाटा कम गर्ने चुनौति भने यसरी बन्दैछ तगारो

निर्यात बढ्दा अर्थतन्त्र सुधारको संकेत : व्यापार घाटा कम गर्ने चुनौति भने यसरी बन्दैछ तगारो

Jan 22nd, 2020

काठमाडौ, माघ ८
आधारभूमी संवाददाता

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका छन् । सधैं आयात बढ्ने तथा निर्यात कम हुने अवस्था आएर मुलुकको अर्थतन्त्र खस्कदै गएको बेला निर्यात बढ्न थालेको छ ।

चालू आर्थिक वर्षको पाँच महिनाको आयात निर्यात शोधनान्तर स्थिति जस्ता विषय समिक्षा गर्दा मुलुकको अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार चालू आवको पाँच महिनामा कूल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै भन्सार विभागका अनुसार कूल ४७ अर्बको निर्यात मध्ये गन्तव्यका आधारमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको छ ।

पाम तेल, अलैँची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वे्दिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रडलगायतका वस्तुको निर्यात घटेको छ । चालू आवको पाँच महिनामा कूल वस्तु आयात ४.२ प्रतिशतले घटेर रु पाँच खर्ब ८१ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो ।

आयात घट्यो

राष्ट्र बैंकको प्रतिवेदन अनुसार निर्यातमा उल्लेख्य वृद्धि हुँदा आयात भने केही घटेको छ । पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगञ्ज, विराटनगर, मेची, तातोपानी र कञ्चनपुर बाहेकका नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुक्खा बन्दरगाह, मेची, तातोपानी, कञ्चनपुर र रसुवा बाहेकका भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ ।

पाँच महिनासम्ममा कूल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटी रु पाँच खर्ब ३३ अर्ब ६४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पाटपुर्जा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ । यसले नेपाल उल्लेखित वस्तु उत्पादनमा आत्मनिर्भर बन्दै गएको संकेत दिएको छ ।

आयात घटेर मुलुकको व्यापार घाटा कम भएसँगै भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति बचतमा छ । पाँच महिनाको शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा थियो।

तगारो बन्दै व्यापार घाटा

आयात कम हुँदै गएपनि व्यापार घाटा अपेक्षा अनुरुप भने घटेको छैन । यस आर्थिक वर्षको पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा व्यपार घाटा कम भएपनि आर्थिक वृद्धिमै तरंग ल्याउने गरी भने घट्न सकेको छैन ।

यस पाँच महिनामा मुलुकको व्यापार घाटा ५ खर्ब ३३ अर्ब ६४ करोड छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले बढेको थियो । यस अवधिमा कुल ५ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४।२ प्रतिशतले बढेको थियो ।

भारतबाट हुने आयात ९.५ प्रतिशतले घटेको छ भने अन्य मुलुकबाट हुने आयात २ प्रतिशतले घटेको छ । चीनबाट भएको आयात भने १५.६ प्रतिशतले बढेको छ । मुलुकबाट बाहिरिनेभन्दा मुलुकमा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति बचतमा देखिन्छ भने मुलुकबाट बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा देखिन्छ ।