काठमाडौं,माघ ८
आधारभूमी संवाददाता
आकर्षक तलब पाइने गन्तब्यमा कामदारहरु जाने क्रम बढेपनि रेमिट्यान्स आउने क्रम भने बढ्न सकेको छैन । अहिले यस्तो रेमिट्यान्सको बृद्धिदर नै खुम्चीएको छ ।
आकर्षक तलब पाइने गन्तब्य जापान , अफगानिस्तान जस्ता मुलुकमा जाने कामदारको संख्या बढेको छ ।
तर यो वर्षको मंसिर मसान्त सम्ममा ३ खर्ब ७६ अर्ब ९९ करोड रकम देशमा पठाएका छन् । यस्तो रेमिमट्यान्स गत वर्षको मंसिरमसान्त सम्ममा ३१ दशमलव ९ प्रतिशतले बढेकोमा यो वर्ष जम्मा शुन्य दशमलव १ प्रतिशतले मात्रै बढेको छ ।
पछिल्लो समय बिदेश जाने कामदारको संख्यामा भने ११ प्रतिशतले बृद्धि भएको छ । जबकी गत वर्ष यस्ता संख्या ३८ दशमलव ४ प्रतिशतले घटेको थियो ।
अहिले विश्वका १ सय ८० देशहरुले रेमिट्यान्स भित्राउने गरेको देखिन्छ । गरिबि घटाउने धेरै उपायहरु मध्ये रेमिट्यान्स पनि एक हो ।
आर्थिक वर्ष २०६०/०६१ मा कुल जनसंख्या मध्ये ३० दशमलव ९ प्रतिशत गरिबिको रेखामुनि रहेका थिए । जुन आर्थिक वर्ष २०७४/०७५ मा घटेर १८ दशमलव ७ प्रतिशत कायम भएको छ ।
जबकी २०६०/०६१ मा ५८ अर्ब रहेको रेमिट्यान्स २०७४/०७५ मा ७ खर्ब ५५ अर्ब पुगेको छ । यसरी हेर्दा देशमा आउने रेमिट्यान्स बढेसँगै गरिबि मात्रै होइन , बाल मृत्युदर पनि घटेको छ भने साक्षरता पनि बढेको छ ।
तर त्यसपछिका वर्षहरुमा देशमा भएको उच्च आर्थिक बृद्धिअनुरुप रेमिट्यान्स भने बढ्न सकेको छैन । देशमा शिक्षा, स्वास्थ्य , गरिबि निवारण र उपभोगमा उपयोग हुने यस्तो रकमको बृद्धिदर यो वर्षमा झनै घट्दै गएको देखिन्छ ।
देश बाहिर कामको खोजिमा गएका कामदारले आर्थिक वर्ष २०५७/०५८ मा कुल गार्हस्थ उत्पादनको १० प्रतिशत हाराहारी हुने गरि देशमा रेमिट्यान्स भित्रिएको थियो । जुन प्रत्येक वर्ष बढ्दै गएर आर्थिक वर्ष २०७१ /०७२ मा कुल गार्हस्थ उत्पादनको २९ प्रतिशत बराबर हुने गरि रकम भित्रियो ।
यसरी उच्च आर्थिक बृद्धिसँगै रेमिट्यान्स बढाउन सकिएको भए मुलुकले आर्थिक बिकासमा फड्को मार्ने थियो । नत आन्तरिक उत्पादन र रोजगारी बढाउन सकिएको छ नत विदेशबाट आउने रेमिट्यान्स नै यसले कतै आर्थिक बिकासमा बाधा पुग्ने त होइन भन्ने अब बहस चलाउन जरुरी छ ।