काठमाडौँ, ८ माघ (रासस)
गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय नेपाल–चीन सम्बन्ध सुढृढ बन्दै गएको बताउनुभएको छ । अरनिको समाज नेपालले चिनियाँ नव वर्षका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल–चीनबीचको सम्बन्ध प्राचीन कालदेखि रहँदै आएको बताउँदै पछिल्ला वर्षमा नेपाल–चीनबीचको सहकार्य बढ्दै गएको बताउनुभएको हो । “चीन र नेपाल प्राकृतिक रुपले मात्र जोडिएको छैनन्, सांस्कृतिक र सामाजिक रुपले समेत जोडिएको छ, यसलाई निरन्तरता दिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले चीनले नेपालको विकासका लागि गरेको कामको उच्च प्रशंसा गर्नुभयो ।
गृहमन्त्री थापाले तीन महिना अगाडि भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल चीनको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो । उहाँले चीनमा पढेर नेपाल फर्केका विद्यार्थीबाट स्थापना गरिएको अरनिको समाज नेपालले नेपाल चीन सम्बन्धलाई झन नजिक बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन–नेपाल सम्बन्ध धेरै पुरानो भएको बताउँदै आउँदो दिनमा उक्त सम्बन्धलाई निरन्तरता दिने बताउनुभयो । नेपालको विकासका लागि चीनको सधैँ साथ र सहयोग रहने उहाँको भनाइ थियो ।