neapl investment mega bank
  • गृहपृष्ठ
  • “सबैभन्दा पहिला हामी सिपाही” कार्यक्रम सम्पन्न

“सबैभन्दा पहिला हामी सिपाही” कार्यक्रम सम्पन्न

Jan 21st, 2020

काठमाडौं, माघ ७

नेपाली सेनामा २०७६ कार्तिक १ गतेबाट संचालन भएको “सबैभन्दा पहिला हामी सिपाही” कार्यक्रमको २०७६ माघ ६ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच समापन गर्नुभएको छ ।

समापन समारोहमा प्रधानसेनापति थापाले यस कार्यक्रमबाट संगठनको प्रभावकारिता अभिबवद्धि गर्न र संगठनभित्रका सम्पूर्ण सकलदर्जामा एउटै बुझाई, एउटै धारणा, अत्यावश्यक गुण, ज्ञान र सीप तथा सैनिक चरित्रको विकास गर्ने लक्ष्य लिइएको बताउनु भयो ।

प्रधानसेनापति थापाले २१औं शताब्दीको सिपाही आर्थिक रुपमा पारदर्शी, सम्मानित र आदर्शवान हुनु पर्दछ र नेपाली सेनाको सिपाहीको एक विशिष्ट चरित्र हुन्छ भन्ने पक्षलाई आम नागरिक, समाज र राष्ट्रले देख्‍न र महशुस गर्न चाहन्छन् भन्‍ने कुरा प्रकाश पार्नुभएको थियो । ।

विगत तीन (३) महिनासम्म संचालन भएको यस कार्यक्रमले भविष्यको सैनिक निर्माण र विकासमा लिइएको उद्देश्य पुरा हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सकलदर्जालाई हार्दिक बधाई समेत दिनुभएको थियो ।

कार्यक्रममा प्राविधिक सेनानी मीनबहादुर बस्नेतले विभिन्न ज्ञान, सीप र क्षमता भएका नेपाली सेनाका सिपाहीहरु एकजुट भएर एकअर्कालाई सम्मान र एकअर्काको महत्त्व बुझ्नुपर्ने बताउनुभयो । उहाँले हामी प्राविधिक भन्नु भन्दा पनि हामी नेपाली सेनाको सिपाही हो भन्ने सोचको विकास गर्नुपर्ने र विविध सेवामा कार्यरत सैनिक व्यक्तिहरुको सुधारको लागि सैनिक आधारभूत ज्ञान र नेतृत्व क्षमता विकासमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाली सेनामा कार्यरत सकलदर्जामा सिपाही सुलभ चरित्रको थप विकास गरी संगठनको मर्यादा, व्यवसायिकता र चरित्र प्रवर्धन गर्ने उद्देश्य अनुरुप नेपाली सेनाका प्राविधक तथा विविध सेवामा कार्यरत सकलदर्जालाई सहभागी गराई तयारी, आधारभूत सैनिक सीप विकास, आफ्नो संगठनलाई चिन्‍ने, आफ्नो कर्तव्यरजिम्मेवारी तथा प्रतिवद्धताको चरणमा विभाजन गरि उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम केन्द्रीय तथा सबै पृतना स्तरहरुमा कार्यरत ५२२७ जना रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जा समावेश गराई कार्यमा बाधा नपर्ने गरी (दैनिक दुई घण्टा) संचालन गरिएको थियो ।

प्रधानसेनापतिको मार्ग निर्देशन बमोजिम प्रत्येक ६/६ महिनामा संचालन गरिने यस कार्यक्रमबाट नेपाली सेनाको सकलदर्जाले आफू आवद्ध निकायका अलवा अन्य निकायको बारेमा समेत जानकारी राख्‍नको लागि लाभदायी हुन गई सहभागी सबैमा पेशागत दक्षतामा निखार आउने विश्वास नेपाली सेनाले लिएको छ ।