neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा तिवारी नियुक्त

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा तिवारी नियुक्त

Jan 21st, 2020

काठमाडौ, माघ ७

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा गोपाल प्रसाद तिवारी नियुक्त हुनुभएको छ । मुलुकका वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको भर्खरै सम्पन्न कार्यसमितिको बैठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो ।

नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम तथा विश्व बैंक जस्ता संस्थाहरुमा काम गरिसक्नुभएका तिवारीसँग विभिन्न वैदेशिक दातृ निकायहरु, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रको लामो अनुभव छ ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १० श्री चौरमा जन्मनुभएका तिवारी केही समय अघिसम्म नेपाल सरकार, दातृ निकाय तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित एवम् सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रुपमा रहेको नेपाल व्यवसाय मञ्चमा वरिष्ठ परामर्शदाता हुनुहुन्थ्यो । उहाँले पछिल्लोपटक नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशक भई कार्यभार सम्हाल्नुभएको थियो ।

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग आवद्ध श्री तिवारी निजी क्षेत्र, आर्थिक तथा वित्तीय क्षेत्रका व्यावसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार मानिनुहुन्छ । अर्थशास्त्रमा स्नातकोत्तर तिवारीले नेपालमा लगानीको वातावरण सुधारसम्बन्धी विषयमा विद्यावारिधि पूरा गर्नुभएको छ । उहाँ सन् २०१६ मा नर्वेबाट सोसिएल अन्ट्रप्रिनरशिप एन्ड इन्नोभेसन म्यानेजमेन्टमा ग«याजुएट र सन् २०१४ देखि बिजीनेस स्कुल अफ नेदरल्यान्डस्मा म्यानेजमेन्ट स्कलरका साथै नर्वेस्थित वैज्ञानिक अनुसन्धान संस्थामा इन्डिपेन्डेन्ट साइन्टिफिक रिसर्चरका रुपमा आवद्ध हुनुहुन्छ ।

महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामार्पmत वित्तीय तथा विभिन्न क्षेत्रमा खोज अनुसन्धान पनि गर्नुभएको छ भने उहाँका अनुसन्धानात्मक लेखहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।

तिवारी नेपालको एक मात्र अर्थशास्त्रीहरुको संस्था नेपाल आर्थिक संघको भर्खरै सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट महासचिवमा निर्विरोध निर्वाचित हुनुभएको छ । नेपालको प्रतिनिधित्व गरी आर्थिक तथा व्यावसायिक विषयमा विभिन्न अन्तर्राष्ट्रिय सेमिनार र वैठकहरुमा सहभागिता जनाउनुभएका नवनियुक्त महानिर्देशक तिवारीको अनुभव नेपालको आर्थिक, व्यावसायिक तथा वित्तीय क्षेत्रका लागि प्रभावकारी बन्ने विश्वास बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले लिएको छ ।

देशभित्र संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको बीचमा आपसी सम्पर्क तथा समन्वय कायम गरी स्वस्थ्य प्रतिस्पर्धाको माध्यममार्फत गुणस्तरीय एवं भरपर्दो बैकिङ्ग सेवालाई दुरदराजसम्म विकास तथा विस्तार गर्ने, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका निकायहरुसँगको सहकार्यमा विद्यमान आर्थिक नीतिगत सुधारका लागि पृष्ठपोषण तथा पैरवी गर्ने, मुलुकको समग्र बैंकिङ्ग सेवामा सर्वसाधारणको पहुँच एवं विश्वसनियता बढाउने र निक्षेपकर्ता तथा लगानीकर्ताहरुको सम्बद्र्धन गरी समग्र राष्ट्रले लिएको आर्थिक समृद्धिको आकांक्षा पुरा गर्ने जस्ता उद्देश्यहरु बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले लिएको छ ।