neapl investment mega bank
  • गृहपृष्ठ
  • घट्दैछ बिनिमय सञ्चीति, बैदेशिक लगानीमा झिनो बृद्धि

घट्दैछ बिनिमय सञ्चीति, बैदेशिक लगानीमा झिनो बृद्धि

Jan 21st, 2020

काठमाडौं, माघ ७ं
आधारभूमी संवाददाता

देशमा भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढेपछि यसले देशको बैदेशिक मुद्रा सञ्चिीतिमै असर गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनाको तुलनामा मंसिरमा बिदेशी मुद्राको सञ्चीति झनै घटेको छ ।

रेमिट्यान्स बढ्न सकेको छैन भने आयातको आकार फराकिलो बन्दै गएको छ । जसले कुल विदेशी मुद्रा सञ्चीतिमा असर गरेको हो ।

राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई मंसिर मसान्तमा १०८८ अर्ब ३१ करोड कायम भएको छ । जुन अघिल्लो महिनामा कुल विदेशी विनिमय सञ्चिति ६.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ३ अर्ब १२ करोड थियो ।

आर्थिक वर्ष २०७६/७७ को पाँच महिनासम्ममा व्यापार घाटा ६.३ प्रतिशतले घटी ५ खर्ब ३३ अर्ब ६४ करोड छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा निर्यात– आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।

तर ब्यापार घाटाको आकार भने बढ्दै गएको छ । किनभने आर्थिक वर्ष २०७६÷७७ को चार महिनासम्ममा कुल वस्तु व्यापार घाटा ४ खर्ब १४ अर्ब २ करोड रहेको थियो ।

ब्यापार घाटा बढ्दै जादा यसको सिधा असर सोधानान्तर बचतमा पनि परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको थियो । जुन कात्तिकमा बढेर २७ अर्ब २९ करोड पुगेको थियो । तर मंसिर मसान्तमा आउँदा यस्तो बचत खुम्चेर २३ अर्ब ३० करोड कायम भएको छ ।

गत वर्ष घाटामा रहेको सोधानान्तर स्थिती यो वर्ष अहिलेसम्म बचतमै रहेको छ । गत वर्षको मंसिर मसान्तमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा थियो ।

त्यसैगरि मंसिर मसान्तसम्म चालु खाता घाटा ७० अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.११९ अर्ब ३३ करोड रहेको थियो । त्यसैगरि यही वर्षको कात्तिक मसान्तसम्म चालु खाता घाटा ३७ अर्ब ३० करोड रहेको थियो ।

प्रत्यक्ष वैदेशिक लगानी भने केहि बढेको देखिन्छ । यो वर्षको मंसिर मसान्त सम्म ६ अर्ब ५७ करोड प्रत्यक्ष बैदेशिक लगानी भित्रिएको छ । जबकी अघिल्लो महिनामा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रहेको थियो ।