रुपन्देही, ६ माघ (रासस)
प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको छ ।
विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे निधन भएको हो । छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहनुभएका पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो ।
विसं १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिनुभएका पोखरेल नेपाली काँग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बन्नुभएको थियो । उहाँ प्रदेशसभाकै जेष्ठ सदस्य हुनुहुन्थ्यो । पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी हुनुहुन्छ ।