neapl investment mega bank
  • गृहपृष्ठ
  • छ बुँदे टोक्यो घोषणापत्र सहित च्याप्टर सम्मेलन सम्पन्न : एक दर्जन पुस्तक विमोचित, केन्द्र र च्याप्टरबीचको सम्बन्ध बन्यो दरिलो

छ बुँदे टोक्यो घोषणापत्र सहित च्याप्टर सम्मेलन सम्पन्न : एक दर्जन पुस्तक विमोचित, केन्द्र र च्याप्टरबीचको सम्बन्ध बन्यो दरिलो

Jan 19th, 2020

टोक्यो, जापान ,५ माघ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूतगतिले अघि बढाउने निर्णय गरेको छ । तीन दिन सम्म चलेको सम्मेलनले पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौलाको नेतृत्त्वमा छ बुँदे घोषणापत्र जारी गर्दै आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

टोकियोको शिन्जुकुमा सम्पन्न भएको अनेसास च्याप्टर सम्मेलनमा केन्द्र र च्याप्टरबीचको सम्बन्धमा रहेका कमजोरीहरुलाई पनि निकास दिएको छ । सम्मेलनमा नौ देशका १७ च्याप्टरका प्रतिनिधिसहित नेपालबाट अध्यक्ष राधेश्याम लेकाली, रमेश दाहाल, महेश पैडेललगायत चर्चित साहित्यकारहरुको उपस्थिति थियो ।

केन्द्रीय कार्य समितिको आयोजना र जापान च्याप्टरको संयोजन र व्यवस्थापनमा भएको उक्त सम्मेलनको संयोजक जापान च्याप्टरका पूर्व अध्यक्ष दीप पाठक थिए । पाठकको नेतृत्वमा रहेको जापान च्याप्टर (२०१७-२०१९ ) लाई संसारभरिका च्याप्टरहरुमध्ये उत्कृष्ट कार्य सम्पादन गरेबापत विशिष्ट च्याप्टर पुरस्कार प्रदान गरिएको थियो । जापान च्याप्टरले प्राप्त गरेको उक्त पुरस्कार प्रमुख अतिथि तथा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले प्रदान गर्नु भएको थियो ।

कार्यक्रमलाई गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं व्यवशायी भवन भट्टले सम्बोधन गर्दै प्रवासमा बढ्दै गएको साहित्य चेतलाई अनेसासले संगठित गरेकोमा हर्ष प्रकट गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसिसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जापानमा रहेका नेपालीहरुको साहित्यप्रतिको लगावले आफू प्रभावित भएको बताएका थिए ।

प्रमुख अतिथि महामहिम राजदूत प्रतिभा राणाले विदेशी भूमिमा नेपाली भाषा र साहित्यको उन्नयन र विकासमा अनेसासले गरेको योगदानको खुलेर प्रशंसा गर्दै यसकार्यमा दूतावास परिवार सहकार्य गर्न तयार रहेको कुरा बताउनु भयो ।

यसैगरी संस्थापक अध्यक्ष होमनाथ सुवेदी र बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीले पठाएको शुभकामना मन्तव्य महासचिव गणेश घिमिरेले वाचन गरेका थिए । दीप पाठकको स्वागत मन्तव्य रहेको सो उद्घाटन सत्रमा अनेसास जापानका पूर्व अध्यक्षहरु डा. कुमार बस्नेत, बेलु काजी थापा र बिष्णुप्रसाद घिमिरे, दिनेशराज ज्ञवली, गैरआवासीय नेपाली संघ जापान अध्यक्ष देवीलाल भण्डारी, आइसिसी एशिया युवा संयोजक दीपक कँडेलले बोलेका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’  ले जापानमा आयोजित च्याप्टर सम्मेलनको उद्देश्य र विषयमाथि प्रकाश पारेका थिए ।

दुई दिन चलेको उक्त कार्यक्रममा पहिलो दिन आधा दर्जन पुस्तकको विमोचनसहित ५० भन्दा बढी कविहरुको काव्यगोष्ठी भएको थियो भने दोस्रो दिन त्रिविविका उपप्राध्यापक तथा साहित्यकार महेश पौड्यालको कार्यपत्र प्रस्तुत भएको थियो । पौड्यालले प्रस्तुत गर्नुभएको कार्यपत्रलाई नेपाली भाषामा स्नातकोत्तर गरेका जापानी नागरिक हारुहितो नोजु र पत्रकार भूषण घिमिरेले टिप्पणी गरेका थिए र कार्यपत्र सेशनको सञ्चालन केन्द्रीय उपाध्यक्ष निशा अर्यालबाट भएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष पदम विश्वकर्मा, पूर्व केन्द्रीय अध्यक्ष डा। कुमार बस्नेत र मोहन सिटौला तथा वर्तमान केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली सहितको कार्यसमिति र च्याप्टर अध्यक्ष तथा प्रतिनिधि र आजीवन सदस्यहरुको उपस्थितिमा केन्द्र, ट्रस्टी र च्याप्टरबीचमा दरिलो समान्वय कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको थियो । १७ च्याप्टरका बीचमा भएको उक्त छलफलले विधान र आन्तरिक विषयमा दफाबार छलफल गरेको थियो । सहभागीहरुबाट आएका सुझाव र गुनासोहरुलाई केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा, केन्द्रीय सचिव लालगोपाल सुवेदी र साहित्यकार तथा अनेसासका आजीवन सदस्य रमेश दाहालले संश्लेषण गरेका थिए । छलफल कार्यक्रमको सभापतित्व केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला‘ले गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट कार्य गरेबापत दोस्रो हुने कोरिया च्याप्टर तथा तेस्रो हुने कतार च्याप्टरलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट च्याप्टर पुरस्कारको प्रायोजन पदम विश्वकर्मा र द्वितीय र तृतीय च्याप्टर पुरस्कारको प्रायोजन निशा अर्यालले गरेका थिए । त्यसैगरी यसअघि क्रमशः पहिलो र दोस्रो च्याप्टर सम्मेलनको संयोजन गरेर उत्कृष्ट कार्य गर्ने शान्तिराम ढकाल र कृष्ण गिरीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको मूल उद्घाटन सत्रको सञ्चालन केन्द्रीय कार्य समितिका महासचिव महासचिव गणेश घिमिरे र जापान च्याप्टर महासचिव रविन शर्माले गरेका थिए । जापानस्थित नेपाली दूतावासले कार्यक्रममा सहगाभी साहित्यकारहरूलाइ स्वागत गर्दै रात्रीभोजको अयोजना गरेको थियो ।

कार्यक्रममा केन्द्रीय समिति तर्फबाट दिइने विभिन्न पुरस्कार प्रायोजन गर्ने भवन भट्ट, पदम विश्वकर्मा एवं दुर्गा दाहाललाई पनि सम्मान गरिएको थियो । अनेसास कोरिया च्याप्टरको गतिविधि र प्रकाशनको काममा महत्त्वपूर्ण योगदान पुर्याएबापत वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’  लाई कोरिया च्याप्टरले अभिनन्दन समेत गरेको थियो । अन्तिम सत्रमा च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो आफ्नो च्याप्टरको २ वर्षे कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यो शत्रको सञ्चालन केन्द्रीय उपाध्यक्ष शान्तिराम ढकालले गरेका थिए । सम्मेलनमा अमेरिका, जापान, कोरिया, नेपाल, भारत, कतार, बेलायत, अस्ट्रेलिया लगायतका मुलुकको सहभागिता थियो ।

अन्त्यमा जापान च्याप्टरका नवनिर्वाचित अध्यक्ष गिरिजा गैह्रेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको समापन मन्तव्यसँगै तीन दिने च्याप्टर सम्मेलनको औपचारिक समापन भएको थियो । उक्त कार्यक्रमले केन्द्र र च्याप्टरबीचको सम्बन्ध मजबुत बनाएको र सबै जसो आन्तरिक समस्याको समाधान भएको भन्दै सहभागीहरुले खुसी व्यक्त गरेका थिए । एशिया युवा संयोजक दीपक कँडेलले बोलेका थिए । यसअघि वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल
‘माइला’  ले जापानमा आयोजित च्याप्टर सम्मेलनको उद्देश्य र विषयमाथि प्रकाश पारेका थिए ।