neapl investment mega bank

हातहतियार सहित पक्राउ

Jan 19th, 2020

धनुषा, माघ ५

क्षिरेश्वरनाथ नगरपालिका १ रम्दैया बस्ने ४२ वर्षीय जितेन्द्र कुमार यादव र सोही ठाउँ बस्ने ३० वर्षीय कुमोद नारायण झालाई ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसको गोली ७ राउण्ड र म्याग्जिन १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका १ भानुचोकमा बा.१४ च ७४५९ नम्बरको कारले ज.९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भए पश्चात् कारलाई जाँच गर्ने क्रममा सिट मुनी लुकाई छिपाई राखिएको उक्त हतियार फेला पारी कार चालक जितेन्द्र र कारमा सवार कुमोदलाई प्रहरीले पक्राउ गरेको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक महोत्तरी पिपरा गाउँपालिका ५ बस्ने २० वर्षीय पारस कुमार यादव र मोटरसाइकलमा सवार हंसपुर नगरपालिका २ बकचौरा बस्ने ३० वर्षीय शिव कुमार मण्डललाई उपचारको लागि स्थानीय धनुषा अस्पतालमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।