neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा महिला पक्राउ

आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा महिला पक्राउ

Jan 16th, 2020

राजविराज, २ माघ (रासस)

सप्तरीमा शिशु हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माई मारी फालेको घटनाको आरोपमा २५ वर्षीया ती महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

महिलाको नाम भने प्रहरीले खुलाएको छैन । हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दाको उजूरी दर्ता गरी थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

रूपनी गाउँपालिका–३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मङ्सिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा बालिका शिशुको शव फेला परेको थियो । अवैध गर्भबाट छोरी जन्मिएका कारण हत्या गरी फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

दुई छोराकी आमासमेत रहेकी ती महिलाको श्रीमान् वैदेशिक रोजगारका लागि मलेशियामा रहेको जनाइएको छ ।