neapl investment mega bank

‘समितिको निर्देशन सरकार किन टेर्दैन’

Jan 13th, 2020

काठमाडौँ, २८ पुस (रासस)

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले समितिले पटकपटक सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । समितिको आजको बैठकमा अधिकांश सांसदले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासलगायत मन्त्रालयलाई विभिन्न विषयमा निर्देशन दिए पनि कार्यान्वयन नगरी समितिको अपहेलना गरेको भन्दै अहिलेसम्मका निर्देशन कार्यान्वयन भए÷नभएका बारे समितिले नै अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य दीनानाथ शर्माले अहिलेसम्म समितिले दिएको निर्देशन कार्यान्वयन भए÷नभएका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्री वा सचिवलाई बैठकमा आमन्त्रण गरी जवाफ माग्नुपर्ने बताउनुभयो । सदस्य विमला पौडेलले निर्देशन कार्यान्वयन सम्बन्धमा अनुगमन गर्दै बजार अनुगमनलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । सदस्य कालीबहादुर मल्ल र खिमकुमार विकले बजार अनुगमनसँगै छड्के अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

सदस्य कमलाकुमारी ओलीले पछिल्लो समयमा यातायात क्षेत्रमा समस्या बढ्दै गएकाले समाधानका लागि अनुगमनपछि मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताउनुभयो । सदस्य महेशकुमार महरा, भैरवसुन्दर श्रेष्ठ, मुक्ताकुमारी यादव, कविता बोगटीलगायतले सरकारले राष्ट्रियसभाअन्तर्गतको दिगो विकास समितिको निर्देशन किन मान्दैन भनी प्रश्न गर्नुभयो । सभापति तारादेवी भट्टले समितिले दिएका निर्देशन कार्यान्वयन भए÷नभएको बारे सम्बन्धित मन्त्रालयसँग जवाफ मागिने बताउनुभयो ।