neapl investment mega bank
  • गृहपृष्ठ
  • शिकार खेल्ने क्रममा एकको मृत्यु, नौजना प्रहरीको नियन्त्रणमा

शिकार खेल्ने क्रममा एकको मृत्यु, नौजना प्रहरीको नियन्त्रणमा

Jan 12th, 2020

–रामबहादुर थापा
बागलुङ, २७ पुस (रासस)

शिकारमा जाँदा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर मृत्यु भएको भनिएका तमानखोला गाउँपालिका–१ का ओमबहादुर घर्तीमगरको अर्कैले भिरेको बन्दुकको छर्रा लागेर ज्यान गएको खुलेको छ । सँगै शिकार खेल्न गएका लोकबहादुर बुढाले बोकेको एकनाले भुरुवा बन्दुक अचानक पड्किँदा ५० वर्षीय घर्तीमगरको ज्यान गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो । छर्रा लागी घाइते हुनुभएका घर्तीमगरको धवलागिरि अञ्चल अस्पताल ल्याउँदै गर्दा बिहीबार राति बाटोमै ज्यान गएको थियो ।

मृतक घर्तीमगरको पिँडौला र पिँठ्यूमा गरी तीन ठाउँमा बन्दुकको छर्रा लागेको थियो । शरीरको पछाडिपट्टि चोट देखिएपछि आफैँले बोकेको बन्दुक पड्किएर घटना नभएको निष्कर्षमा प्रहरी पुगेको हो । “शवको प्रकृति हेर्दा अरु नै दुर्घटना हो भन्ने लागेपछि थप अनुसन्धान थाल्यौँ”, बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले भन्नुभयो । उहाँले घटनामा नियत नदेखिए पनि कसरी बन्दुक पड्केर घर्तीमगरलाई लाग्यो भन्नेबारे अझै खुलिनसकेको बताउनुभयो । शव परीक्षणको प्रतिवेदन पनि आउन बाँकी रहेकाले छिट्टै घटनाको थप यथार्थ बाहिर आउने उपरीक्षक भट्टको भनाइ छ । “बीचबाटोमा ल्याउँदासम्म उहाँ जीवितै रहेको भन्ने पाइयो”, उपरीक्षक भट्टले भन्नुभयो । घर्तीमगरलाई अस्पताल पु¥याएपछि चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए ।

घटनालाई ढाकछोप गर्न कसैलाई थाहै नदिइ घाइतेलाई अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मृतक घर्तीमगरको शव शनिबार परिवारले बुझी अन्तिम संस्कारसमेत गरिसकेका छन् । मृतक घर्तीमगरका छोरा मेघबहादुरले कर्तव्य ज्यान मुद्दामा जोहेरी दिएपछि शिकार खेल्न गएका बुढासहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चार वटा एकनाले बन्दुकसहित मृतक घर्तीमगर, वडा नं। ३ का लोकबहादुर, गाउँपालिका– १ का २५ वर्षीय भेषबहादुर बुढा, ४० वर्षीय खट्केङ दमाई, २० वर्षीय भीमबहादुर नेपाली, ४७ वर्षीय देवबहादुर पुन, ६७ वर्षीय प्रेमबहादुर पुन, वर्ष ३९ का पृथीबहादुर घर्ती, वडा नं ३ का ४४ वर्षीय फर्षबहादुर बुढा र ३५ वर्षीय दुर्गाबहादुर घर्ती स्थानीय सासवाङको जङ्गलमा गत शुक्रबार दिउँसो शिकार खेल्न गएका थिए ।

प्रहरीसँगको प्राररम्भिक बयानमा आरोपितले बाँदर धपाउन र शिकार खेल्न गएको बताएका छन् । शिकारमा लगिएका चारमध्ये लोकबहादुरले भिरेको बन्दुक मात्र पड्किसकेको अवस्थामा प्रहरीले घटनास्थलबाट बरामद गरेको थियो । बाँकी बन्दुक पृथीबहादुर, दुर्गाबहादुर र खट्केङको घरबाट प्रहरीले बरामद गरेको हो । घरमा भेटिएका तीनै वटा बन्दुक छर्रा भरिएको अवस्थामा रहेको जनाइएको छ ।

शिकार खेल्न भनी गए पनि कुनै पनि वन्यजन्तुको शिकार गरेको नपाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न नौ जना आरोपितसहित बरामद गरिएका अवैध भरुवा बन्दुक, छर्रालगायत बन्दोबस्तीका सामग्री प्रहरीले आइतबार सार्वजनिक गरेको थियो । अदालतबाट म्याद थप गरी आरोपितमाथि कर्तव्य ज्यान एवं हतियार तथा खरखजना मुद्दामा अनुसन्धान चलिरहेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

अवैध हातहतियार कसुरमा पाँच वर्ष जेल सजायदेखि ५० हजारसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । कर्तव्य ज्यानको कसुर प्रमाणित भए थप कानूनी कारवाही हुने घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक केशवसिंह थापाले बताउनुभयो ।