हेटौँडा, २६ पुस (रासस)
प्रदेश नं.३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय मतदान प्रक्रियाबाट निर्णय गरिने बताउनुभएको छ ।
उहाँले प्रदेशसभाको आइतबार बिहान ९ बजेदेखि बस्ने बैठकबाट प्रदेशको स्थायी राजधानी र नामकरणको निर्णय मतदान प्रक्रियाबाट गरिने जानकारी दिनुभयो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं। ३ को राजधानी हेटौँडा राख्ने सम्बन्धमा प्रस्तुत प्रस्तावमाथि प्रदेशसभाका सदस्यले उठाउनुभएको जिज्ञासावारेमा जवाफ दिनुहुने कार्यसूची रहेको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।
उक्त प्रस्तावका प्रस्तावक मुख्यमन्त्री पौडेल र समर्थक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ रहनुभएको छ । प्रदेशसभामा कूल ११० सदस्यमध्ये नेकपाको ८०, नेपाली काँग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल मजदूर पार्टीको दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एक जना स्वतन्त्र हुनुहुन्छ ।