काठमाडौं, २० पुस
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।
शनिबार राति भएको तेस्रो चरणको खेलमा पोर्ट भेललाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको हो ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले सुरुवाती अग्रता लिएको थियो ।
खेलको २० औं मिनेटमा जिनचेन्कोले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि ३५औं मिनेटमा पोर्ट भेलका टोम पोपीले बराबरी गोल फर्काए । ४२औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफमा सिटीले थप दुई गोल गर्न भयो सफल । हारवुडले ५८औं मिनेटमा र फि फोडेनले ७६औं मिनेटमा गोल गरेपछि सिटी ४–१ ले जित दिलाए ।