neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेश नं ३ को राजधानीको नाम र स्थान आगामी प्रदेशसभा बैठकले पारित गर्ने

प्रदेश नं ३ को राजधानीको नाम र स्थान आगामी प्रदेशसभा बैठकले पारित गर्ने

Jan 5th, 2020

हेटौँडा, २० पुस (रासस)

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ को संसदीय दलको बैठकमा धारण राख्नुहुने प्रदेशसभा सदस्यले राजधानीको नाम र स्थानको विषयमा आगामी प्रदेशसभा बैठकले एकमतले पारित गर्ने जानकारी दिनुभएको छ ।

प्रदेशसभाको बैठक यही पुस २१ गते बस्दैछ । नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो । प्रदेश नं ३ का मुख्यमन्त्री निवासमा आज बसेको दलको बैठकमा राजधानीको नाम र स्थान सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा आएको प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो । सबैको भावनाको कदर गर्दै प्रक्रियाअनुसार नै राजधानी र नाम टुङ्ग्याइने उहाँले बताउनुभयो ।

पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने र सांसदहरुले यसैअनुरुप सहमति जनाउने प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले हालसम्म आफूहरुलाई पार्टीको सर्कुलर प्राप्त नभएको बताउनुभयो । प्रदेशसभा सदस्य विनोद खड्काले प्रदेशको नाम वाग्मती र स्थान हेटौँडालाई अनुमोदनका लागि संसदीय दलको बैठक बसेको जानकारी दिँदै आगामी बैठकमा निर्णय पारित हुने जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य दीपक निरौलाले पार्टीको निर्णयानुसार नै राजधानीको नाम र स्थानमा आफूहरु उभिएको धारणा व्यक्त गर्नुभयो ।