काठमाडौँ, १९ पुस (रासस)
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले आर्थिक रुपमा विपन्न भएका व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर ४० श्ययामा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ ।
अस्पतालको शुक्रबार सम्पन्न सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आर्थिकस्थित कमजोर भएकालाई सिद्धार्थ वार्ड स्थापना गरेर ४० श्ययाबाट निःशुल्क सेवा दिन लागेको बताइएको हो । अस्पतालका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले ग्राण्डी अस्पतालले धनी र गरिब दुवै स्तरका नागरिकलाई सेवा दिने उद्देश्यले ४० श्यया निःशुल्क गर्न लागेको जानकारी दिनुभयो । “ग्राण्डी अस्पताल धनी व्यक्तिले उपचार गर्ने अस्पताल हो भन्ने आम मानिसको बुझाई छ, यसलाई चिर्नका लागि पनि हामीले ४० श्यया निःशुल्क गर्न लागेको हौँ”, अध्यक्ष कुँवरले भन्नुभयो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अस्पताललाई चाहिने स्थानीय सरकारको साथ र सहयोग दिन स्थानीय सरकार तयार रहेको उहाँको भनाइ थियो ।
अस्पतालका निर्देशक डा चक्रराज पाण्डेले सात वर्षको अवधिमा अस्पतालले चार हजारभन्दा बढी विशेष, आठ लाखभन्दा बढी विरामीको बहिरङ्ग(ओपिडी) सेवा, ५० हजार अन्तरङ्ग बिरामी, ३० हजार सर्जरी, ४१ हजार आकस्मिक सेवा र तीन हजारको हेलिकप्टरमार्फत उद्धार गरी स्वास्थ्यसेवा प्रदान गरेको जानकारी दिनुभयो ।
एक वर्षदेखि नेपालमै पहिलोपटक स्पोर्ट मेडिसिन, स्पाइन सर्जरी, इमर्जेन्सी मेडिसीन र हेपाटोप्यानक्रयाटिक चार क्षेत्रमा फेलोसिप कार्यक्रम शुरु गरेको अस्पतालले जनाएको छ ।