काठमाडौं, पुष १९
गत चैतमा सम्पन्न लगानी सम्मेलनमा पेश भएका आयोजनामा लगानी बोर्डले १४ वटा आयोजनाका लागि लगानीकर्ता छनोट गरेको छ ।
१४ परियोजनामो करिब ११ खर्ब ८८ अर्ब नेपाली रूपैयाँ बराबरको लगानीको सूची तयार पारिएको लगानी बोर्डले जनाएको छ ।
लगानी सम्मेलनका क्रममा आएका आशयपत्र अध्ययन गरेर बोर्डले योग्य कम्पनीहरु छनोट गरेको हो ।
सम्मेलनमा ५० आयोजनालाई सार्वजनिकिकरण गरिएको थियो । बोर्डका अनुसार ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनोट भइसकेको छ ।
त्यसैगरि गाडी एसेम्बल्डका लागि लगानी प्रतिवद्धता गरेको मोट्रेक्स कम्पनीसँग १० अर्ब ५४ करोड रूपैयाँको परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको बोर्डले जनाएको छ ।
विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रूपैयाँ कुल लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई छुट्टाछुट्टै कम्पनीसँग समझदारी भएको बोर्ड बताउँछ ।
बोर्डले प्रदेश १ को दमकमा करिब ६४ अर्ब ६१ करोड रूपैयाँ लागत रहेको चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणमा समेत समझदारी भएको जनाएको छ।
बोर्डका अनुसार प्रस्ताव आह्वान गरेका १५ प्रस्तावमा १० वटा परियोजना कार्यान्वयनको लागि अध्ययन चरणमा रहेको र लगानी सम्मेलनको क्रममा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारी कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।
बोर्डले यसपाली लगानी सम्मेलनमा ब्यक्त आशयपत्रलाई मात्रै लगानीको रुपमा ब्याख्या गरेको छैन । बोर्डले कम्पनी छनोट गर्ने मात्रै नभई अहिले ति कम्पनीसँग बेलाबेलामा सम्पर्क पनि गरिरहेको छ ।
आउटर रिङरोड, पश्चीम सेती जलविद्युत आयोजनाका साथै निजगढ बिमानस्थलका लागि लगानीकर्ता छनोट गरिएको बोर्डले जनाएको छ।