काठमाडौं ,१८ पुष
अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गाना विरुद्ध भ्रष्ट्राचार गरेको आरोमा विशेष अदालतमा मुद्दा दायर भएकोे छ ।
उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनलाई सार्वजनिक सेवामा रहँदा अवैधानिक रुपमा सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ ।
१९ साउन २०४९ मा सरकारी सेवामा प्रवेश गरेका ढुङ्गानाले त्यसयता विभिन्न क्षेत्रमा गरी कूल ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारले गरेको छानबिनका क्रममा देखिएको छ ।
अख्तियारका अनुसार उनले त्यस अवधिमा ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ मात्रै वैध रुपमा आम्दानी गरेको देखिएको छ ।
४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको खर्च तथा लगानीमध्ये स्रोत नखुलेका कारण अख्तियारले सोही आधारमा बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएको छ ।
ढुंगानाले अवैध तरिकाले कमाएको रकम श्रीमती मधु कोइराला ढुंगानाको नाममा सम्पत्ति आर्जन गरेको देखिएकाले श्रीमतीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३ तथा दफा २९ (२) , भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२) बमोजिम जरिवाना र कैद माग दावी गरेको हो ।